एजेन्सी । फुटबलमा ठूलै गल्ती नगरी खेलाडीले रातो कार्ड पाउँदैन । तर कोरोना कहरले गर्दा रातो कार्डको अर्को एउटा कारण पनि थपिएको छ । फुटबल खेलका क्रममा कुनै पनि खेलाडीले जानाजान अन्य खेलाडीहरूतर्फ फर्केर खोकेमा रातो कार्ड दिइन सक्ने बेलायती फुटबलको नियामक निकाय आईएफएबीले बताएका छन् । खेल संचालनमा आबद्ध अधिकारीहरूतर्फ फर्केर खोकेमा पनि यो खेल मैदानबाट बाहिर पठाइनेछ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणका कारण यस्तो नयाँ नियम ल्याइएको हो । फुटबलमा गम्भीर प्रकारका गल्ती गर्ने खेलाडीहरुलाई रेड कार्ड दिइने गरिन्छ जसकारण ती खेलाडीले खेललाई निरन्तरता दिन पाउँदैनन् र उनी आबद्ध टोली १० खेलाडीमै सीमित रही खेल्नुपर्ने हुन्छ ।
अब खेलका दौरान कसैको नजिक गएर जानाजान खोक्ने कार्य अपमानजनक, गालीबेइज्जती वा अशिष्ट भाषा र इशाराहरू गर्ने गल्ती सरह मानिने पनि आईएफएबीले जनाएको छ। ती खेलाडीलाई साँच्चै नै खोकी आएको वा जानजान गरेको भन्ने निर्क्यौल गर्ने अधिकार रेफ्रीमा निहीत हुने पनि जनाइएको छ ।