काठमाडौं । जुत्ता किनारैमा छाडेर सोमबार बल्खु खोलामा खसेका पत्रकार बलराम बानियाँको शव हेटौंडामा फेला परेको छ । तनहुँ स्थायी घर भएका बानियाँ दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग आवद्ध थिए । असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा चीनले नेपालको भूभाग ओगटेको समाचार उनको बाइलाइनमा प्रकाशित भएपछि सम्पादकीय समूहले सार्वजनिक क्षमायाचना गरेको थियो ।
त्यसयता बलराम कान्तिपुरमा कम भूमिकामा रहँदै आएका थिए भने उनमा निराशा बढ्दो अवस्थामा देखिन्थ्यो । मदिरा सेवन गरेको अवस्थामा खोला किनाराबाट लडेका बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएका थिए । तर, उनले ती दुबै चिजको प्रयोग गर्न सकेनन् । प्रहरीको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार विहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्याइएको छ ।