काठमाडौं । अर्थतन्त्र धरासायी भयो भन्दै खोलिएको लकडाउनले राजधानी काठमाडौं उपत्यकामा संक्रमणले महामारीकै रुप धारण गर्न थालेको छ । बुधबार काठमाडौं उपत्यकामा १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा थप १३८ जनामा कोरोना पुष्टि भएको हो। काठमाडौं जिल्लामा १०९ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा कोरोना देखिएको छ। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन्। उपत्यकामा मंगलबार १३४ जनामा कारोना संक्रमण देखिएको थियो । आज देशभर जम्मा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
४८४ जना संक्रमित थपिँदा ८ जनाले ज्यान गुमाए
बुधबार नेपालमा ४८४ जनामा कोरोना संक्रमण थपिँदा ८ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गर्दा ४८४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको २४ हजार ४३२ संख्या पुगेको छ। जसमध्ये १६ हजार ७२८ जना निको भएर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६४ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ। यस्तै १४ हजार ८४६ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा कोरोनाबाट हालसम्म ९१ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ।