काठमाडौं । कोरोना कहर बढेसँगै कोरोना बीमा (कोभिड १९ बीमालेख) गराउनेको संख्या बढेको छ । सहजै बीमा गर्न सकिने र भुक्तानी पनि सहजै हुने भएका कारण यो बीमामा आकर्षण देखिएको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले शुक्रबारसम्म यस्तो बीमा गराउनेको संख्या १० लाख नाघेको जानकारी दिएको छ । दिनदिने कोरोना बीमा गराउनेको संख्या बढ्दो छ । समितिका अनुसार बीमा पुल मार्फत आठ लाख ३४ हजार ९ सय ३३ जनाको कोरोना बीमा भएको छ । उता बीमा संस्थानबाट सरकारी कर्मचारीहरुको बीमा हुने गरेको छ । तथ्यांक अनुसार संस्थानबाट करिब २ लाखको बीमा गरिएको छ । यी दुवैतिरको जोड्दा विमितको संख्या १० लाख नाघेको हो । अन्य बीमा कम्पनीहरुबाट गरिएको बीमाबाट ४६ करोड ९८ लाख ७९ हजार १ सय ८२ रुपैयाँको बीमा शुल्क आर्जन भएको छ । संस्थानबाट गर्नेहरुको १६ करोड रुपैयाँ हुन आउछ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका सरकारी कर्मचारीहरुको भने सरकारले निःशुल्क बीमा गरिदिएको हो ।
यस अवधीमा ५ सय ९९ जनाले दावी भुक्तानी लिएका छन् । ५९९ जनाको साढे ५ करोड रुपैयाँ दावी भुक्तानी भएको समितिले जनाएको छ । समितिले १ हजार रुपैयाँमा १ लाख रुपैयाँको र ५ सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बीमा गर्न सकिने व्यवस्था बनाएको छ । परिवारकै बीमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ ।
बीमाको अवधि एक वर्ष हुनेछ । बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बीमा दाबी भुक्तानी हुनेछ ।