काठमाडौं । देशका अधिकांश स्थानमा लगाएको निषेधाज्ञा मात्रै खुकुलो बनाइएको छैन भोलिदेखि लामो दुरीका बस र आन्तरिक उडान पनि खुला गर्ने निधो गरिएको छ तर संक्रमणको दर हेर्दा डरलाग्दो गरी बढेको छ । बितेको २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएको पनि जानकारी दिए । उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ । यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् । आज १०,४९४ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए । यसैबीच बितेको कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।