काठमाडौं । गत असोज १८ गते पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध करणीको उद्योग गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको आरोप महरामाथि लगाइएको थियो । महराविरुद्ध शाहीले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा जाहेरी दिएपछि महरा बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए ।
महरा प्रकरणमा फरेन्सिक रिपोर्टले प्रहरीलाई दह्रो साथ नदिएको बताइन्छ । घटनास्थलमा पुगेको प्रमाणित भएको छ र तर करणीको उद्योग गरेको हो वा होइन भन्ने कुरा पुष्टि गर्नचाहिँ बडो मुश्किल परेको बताइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध करणीको उद्योग गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ताको गरेको हो । सरकारी वकिल कार्यालयले महराविरुद्ध मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसूर गरेको अभियोगको मागदावी गरेको बताइएको छ ।
मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । त्यसकै दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई आधामात्र सजाय हुने व्यवस्था छ ।
यसअनुसार सरकारी वकिल कार्यालयले महराविरुद्ध साढे ३ वर्षदेखि ५ वर्षको कैद सजाय माग दावी गरेको छ । तर महराले सरकारी ओहोदामा रहेर करणी उद्योग गरेको भन्दै सरकारी वकिल कार्यालयले उनीविरुद्ध डेढ गुणा बढी सजायको माग गरेको हो ।
कुनै सरकारी कार्यालय वा सार्वजनिक वा संगठित संस्थाको पद, ओहोदामा बहाल रहेको अवस्थामा पदको दुरुपयोग गरी कसूर गरेमा डेढ गुणा बढी सजाय हुने कानुनी व्यवस्था छ । यो व्यवस्थाअनुसार महरालाई ५ वर्षदेखि साढे ७ वर्षसम्म कैद सजाय हुन सक्ने बताइन्छ ।