काठमाडौं । सुरुआती मापदण्ड परिवर्तन गरेपछि कोरोनाबीमा मात्रै होइन समग्र बीमा व्यवसायमाथि प्रश्न उठेको छ । कोरोना बीमाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट माथि अब असोज १८ गतेपछि मात्र बहस हुने भएको छ ।
अधिवक्ता भाइराजा राई र दावा तामाङले कोरोना बीमा मापदण्ड २०७७ सैद्धान्तिक रूपमा कानूनविपरीत भएको भन्दै गत भदौ २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चले गत बिहीवार अन्तरिम आदेशका लागि न्यायाधीशद्वय हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशमा उक्त रिट माथि बहस गर्न पेश्की तोकेको थियो । तर, त्यो दिन उक्त रिट हेर्न नभ्याइएपछि अर्को पेश्कीमा बहस गर्न लागिएको हो । पहिलो नम्बरमा रहेको मुद्दामा लामो बहस भएका कारण कोरोना बीमाविरुद्धको रिट हेर्न नभ्याइएको सर्वोच्चले बताए को छ । उक्त इजलाशमा दोस्रो नम्बरदेखि तल रहेका कुनै पनि मुद्दामा बहस गर्न नभ्याइएको सर्वोच्चको भनाइ छ ।
रिट दायरकर्ता अधिवक्ता दावा तामाङका अनुसार अब असोज १८ गतेपछि मात्र उक्त रिटउपर छलफल हुनेछ । सर्वोच्च अदालतले पक्ष र विपक्ष दुवै पक्षलाई असोज १८ गते अदालतमा उपस्थित हुन तारीख दिएको छ । सोही दिन दुवै पक्षलाई उपयुक्त हुने म्याद मिलान गरेर बहसको पेश्की तोकिने अधिवक्ता तामाङले बताएका छन् ।