काठमाडौं । निस्वार्थ रुपमा चिकित्सा क्षेत्रको सुधारको माग राख्दै पटक पटक अनसनमा बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। १५ दिनदेखि अनसनरत डा केसीमा जिउ गल्ने, चक्कर लाग्ने, धड्कन बढ्नेलगायतका समस्या देखिन थालेको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ। डा केसीको रगतमा डब्लुबिसीको मात्रा कम भएको, सुगर कम भएको र पोटासियमलगायतका तत्व पनि कम देखिएको डा केसीको स्वास्थ्य अवस्था निगरानी गरिरहेका अस्पतालका डा सुवासप्रसाद आचार्यले जानकारी दिएका छन्। डा आचार्यको टोलीले अनसनरत डा केसीको स्वास्थ्य अवस्था जुनसकै बेला पनि गम्भीर हुन सक्नेसमेत बताएका छन्। उनलाई जुनसुकै बेला आइसियुमा सार्नुपर्ने अवस्था रहेकोसमेत अस्पतालको भनाइ छ।
चिकित्सकहरूले उनको अवस्था खराब हुँदै गएपनि डा केसीले कुनै उपचार लिन मानेका छैनन्। उनले आफ्ना माग पूरा नहुन्जेल कुनै पनि उपचार नलिने अडान राख्दै आएका छन्।
कुनै पनि बेला औषधि दिनुपर्न सक्ने अवस्था रहेकाले उनको नसा भने खोलिएको अस्पतालले जनाएको छ।