free website hit counter

अवैध बाटो हुँदै युरोप छिर्न खोज्ने एक नेपालीलाई गोली हानि मारियो

beemaadmin
२०७७ आश्विन १४, बुधबार

काठमाडौं । इराकबाट अवैध बाटो हुँदै युरोप छिर्न खोज्दा एक नेपाली मारिएका छन्। सुनौलो भविश्यको सपना बुनेर अवैध बाटो हुँदै युरोप छिर्न खोजेका एक नेपाली युवाले बाटोमै गोली खाएर मृत्युवरण गरेका हुन्। उनको अज्ञात समूहले चलाएको गोली लागेर इराक र इरानको सीमावर्ती क्षेत्रमा मृत्यु भएको हो। त्यस्तै उनीसँगै युरोप जान लागेका दुई जना पक्राउ परेका छन्। उनीहरुलाई १७ दिनसम्म जेल राखेर अहिले छाडिएको छ। मृतकका परिवार तथा ती दुई जनाको आग्रहमा उनीहरुको पहिचान गोप्य राखिएको छ।

कसरी भयो घटना र

इराकको कुर्दिस्तानमा कार्यरत ३ जना नेपाली युवालाई एकाएक युरोप छिर्ने इच्छा जाग्यो। यसैक्रममा कुर्दिस्तानमै रहेका एक आरिफ नाम गरेको बंगलादेशी विचौलीयासँग उनीहरुको सम्पर्क हुन्छ। आरिफले युरोपमा राम्रो काम र आकर्षक तलब दिलाउने भनेर उनीहरुलाई प्रलोभन देखाउँछन्।

आरिफ मानव तस्करीको अन्तर्राष्ट्रिय गिरोहसँग साँठगाँठ गरेर मानव ओसार पसार तथा बेचबिखनमा सक्रिय दलाल हुन्। उनले इराकमा बसेर युरोप पठाउने भन्दै मान्छे बटुल्ने गर्दथे। आरिफले इराकमा रहेका नेपालीसहित बंगालादेशी, भारतीयलगायतका नागरिकहरुलाई विभिन्न प्रलोभन देखाउँथे।

युरोपमा राम्रो रोजगारी मिलाइदिने भनेपछि उनीहरु पनि आरिफको फन्दामा परे। चर्को शुल्क तिरेर अवैध बाटो हुँदै युरोप छिर्न राजी भए। उनीहरुलाई आरिफले सेटिङमार्फत युरोप छिराउने बताएका थिए। पीडित एक नेपाली युवाका अनुसार आरिफले उनीहरुलाई टर्कीसम्म पुर्याइदिने र त्यहाँबाट अर्को दलालले उनीहरुलाई युरोप पठाइदिने बताएका थिए।
सोही अनुसार गएको १० सेप्टेम्बरमा उनीहरु कुर्दिस्तानको एर्विलबाट सुलेमानीका लागि हिँडे। सुलेमानी पुगिसकेपछि उनीहरुको टर्कीका लागि यात्रा गर्ने तय भएको थियो।

एर्विलबाट सुलेमानीका लागि हिँडेका उनीहरु कुर्दिस्तानको दुकान भन्ने ठाउँसम्म मात्रै आफन्त तथा साथीभाइको सम्पर्कमा थिए। उनीमध्ये एक जनाले अन्तिम पटक कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीका अध्यक्ष कमल तामाङ वाइवालाई सम्पर्क गरेर आफू युरोप जान लागेको बारेमा जानकारी गराएका थिए। त्यसपछि उनी एकाएक सम्पर्कविहीन भएका थिए।

एकाएक सम्पर्कविहीन भएपछि उनका नेपालमा रहेका आफन्तले खोजी गरिदिन भन्दै कुर्दिस्तान प्रवासी समाज सुलेमानी तथा त्यहाँ रहेका सक्रिय नेपाली अभियान्ताहरुलाई अनुरोध गरेका थिए। त्यत्तिबेलासम्म एक जनामात्रै बेपत्ता भएको भन्ने थियो।

उनीसँगै अरु दुई जना पनि छन् भन्ने कसैलाई पनि पत्तो थिएन। मान्छे बेपत्ता भएको भन्ने जानकारी पाएसँगै डिसी नेपालले एफ डब्ल्यूसीडीओका संस्थापक हामा महम्मद हाजारसँग मिलेर उनको खोजी शुरु गरेको थियो।

दुकानदेखि सुलेमानी आउनेसम्म रहेका सम्पूर्ण चेकपोस्टहरुमा उनको सोधीखोजी गरियो। चेकपोस्टबाट कोही पनि नेपाली नसमातिएको जानकारी गराइयो। चेकपोस्टमा पनि कुनै जानकारी नभेटिएपछि खोजीमा जुटेको टिमलाई थप निराश बनाइदियो।

उनको खोजीका लागि स्थानीय प्रहरीको सहायता लिइएको थियो। यसैक्रममा त्यसको ४ दिनपछि १४ सेप्टेम्बरमा समाजका अध्यक्ष कमल तामाङ वाइवालाई प्रहरीले खबर पठायो।

प्रहरीले ३ जना नेपाली सुलेमानीको सित्तकभन्दा पछाडि च्वारता भन्ने ठाउँमा फेला परेको भन्ने जानकारी दिएको थियो। उनीहरु इरानको सीमा नजिकैमा रहेको च्वारता प्रहरी चौकीमा समातिएको बताइएको थियो।

उनीहरुलाई समातेर प्रहरीले जेलमा राखेको थियो। नेपाली जेलमा रहेको जानकारी पाएसँगै एफ डब्ल्यूसीडीओका संस्थापक हामा महम्मद हाजार र डिसी नेपाल उनीहरुको अवस्था बुझ्न त्यहाँ पुगेको थियो।

त्यहाँ पुग्दा थाहा भयो दलालले उनीहरुलाई युरोप पठाउन भन्दै सुलेमानी नलगी दुकानबाटै इरानको सीमामा पुर्याएको रहेछ। दलालले सेटिङमार्फत जंगलीबाटो हुँदै इरानको सीमा पार गराउने बताएका थिए।

उनीहरुलाई दलालले इराकको सीमा पार गराउँदै गर्दा एक्कासी फाइरिङ शुरु भएको थियो। ‘गाडीमा हामी तीन जना नेपाली थियौँ। हामीलाई गाडीमा सुताएर इराकको सीमा पार गराउँदै इरान छिराउन लागिएको थियो,’ उनले डिसी नेपालसँग भने, ‘अचानक अन्धाधुन्ध गोली चल्यो।

हामीमध्ये १ जनाको पेटको कोखाबाट गोली छिरेको रहेछ। उहाँको त बाटोमै मृत्यु भइसकेको रहेछ, त्यत्ति बेला हामीलाई उहाँको मृत्यु भएको थाहा पनि भएन।’ गोलीको आवाज सुनेपछि आफूसँगै रहेका एक नेपाली बेहोश भएको उनले बताए।

गोली चलेपछि छल्नलाई चालकले गाडीलाई जंगलतर्फ मोडेका थिए। त्यसपछि भगाउने क्रममा गाडी पल्टेर नालीमा खसेको थियो। चालकले गाडीलाई जंगलमा लुकाउने प्रयास गरेका थिए।

आपतमा परेपछि होशमा रहेका एक युवाले सहयोगको लागि हारगुहार गरेका थिए। हारगुहार गरेपछि सम्पर्कमा आएका केही स्थानीयले उनीहरुलाई स्थानीय प्रहरी चौकीमा लगेर छोडेका थिए।

गोली लागेर घाइते भएका नेपालीको भने त्यहाँ पुग्दा मृत्यु भइसकेको थियो। बाँकी दुई जनालाई भने प्रहरीले पक्राउ गरेर जेलमा राखेको थियो। अहिले उनीहरुलाई १७ दिनपछि प्रहरीले जेलमुक्त गरेको छ। एफ डब्ल्यूसीडीओका संस्थापक हामा महम्मद हाजारको प्रयासमा उनीहरु जेलमुक्त भएका हुन्।

गोली चलाउनेको पहिचान भएन
तर, उनीहरुमाथि गोली कसले चलाएको हो भन्ने अहिलेसम्म पहिचान नभएको बताइएको छ। प्रहरीले पनि उनीहरुमाथि गोली चलाउने को हुन् भन्ने विषयमा आफूहरु जानकार नभएको बताएको छ।

दुर्ई देशबीचको सीमा क्षेत्र भएकोले गोली चलाउने सीमा रक्षामा खटिएका सुरक्षाकर्मी पनि हुन् सक्ने अनुमान गरिएको छ। तर, इराकी पक्षले भने आफ्नो तर्फबाट गोली नचलाएको बताएको छ।

इरानको तर्फबाट सीमामा खटिएका सुरक्षाकर्मीले गोली चलाएको हुन सक्ने अनुमान पनि गरिएको छ। त्यस्तै कुनै लुटेरा समूहले धनमान लुट्नको लागि गोली चलाएको हुनसक्ने शंका पनि छ। तर, घटनाको वास्तविकता अझैसम्म खुलेको छैन्।

इराकबाट जोखिम मोलेर युरोप छिर्ने नेपालीको संख्या बढ्दै

अवैध बाटो हुँदै युरोप जान लागेका एक नेपाली युवाको सपना यसरी पराइ भूमीमा तुहिएको छ। यो प्रतिनिधि घटना मात्रै हो। अवैध बाटो हुँदै युरोप छिर्ने खोज्ने नेपालीहरु विच्चलीमा परेको, बेपत्ता भएको खवरहरु बेलाबखत आउने गर्छन्।

विगत ५ वर्षदेखि इराकमा रहेका नेपालीहरुमा पनि युरोप छिर्ने लहर चलेको छ। उनीहरु दलालको सेटिङमार्फत अवैध बाटो हुँदै युरोपका विभिन्न मुलुकहरुमा पुग्ने गरेका छन्। यसरी जानेहरुमध्ये केहीले त्यहाँ पुगेर राम्रै आम्दानी समेत गरेका छन्।

तर, सबैलाई भने दलालले भनेजस्तै दाम र माम मिलेको छैन। धेरैले दुःख पाएको बताउँछन् कुर्दिस्तान नेपाली प्रवासी समाज सुलेमानीका अध्यक्ष कमल वाइवा। ‘म २०१२ देखि इराकको कुर्दिस्तानमा छु। यहाँ रहेका धेरै नेपालीहरुमा युरोप जाने सपना बढेको छ।२०१५ देखि त एक किसिमको लहर नै चलेको छ। फेशन जस्तै भएको छ,’ उनले भने, ‘तर, यसरी जानेहरुमध्ये धेरैजसोले दुःख पाएका छन्। केहीलाई भने त्यहाँ पुगेपछि राम्रो पनि भएको छ।’ उनले अवैध बाटो हुँदै नजान इराक तथा कुर्दिस्तानमा रहेका नेपालीलाई आग्रह गरेका छन्।

इराकबाट कतिपय नेपालीले आठ हजारदेखि नौ हजार डलरसम्म तिरेर युरोप जाने गरेका छन्। उनीहरु बंगाली, भारतीय, पाकिस्तानी र कुर्दिस्तानका दलालहरुलाई लाखौँ पैसा बुझाएर युरोपको बाटो तय गर्छन्।

यसरी छिर्न खोज्नेहरु युरोपसम्म पुग्छन् कि पुग्दैनन् भन्ने समेत पत्तो हुँदैन। कतिपयलाई त सम्बन्धित ठाउँमा पुर्याउन नसकेपछि दलालहरुले आधा बाटो बाटै बेपत्ता पार्ने गरेको घटना सार्वजनिक हुन्छन्।

इराक तथा कुर्दिस्तानमा हजारौँ नेपाली रोजगारीका लागि पुगेका छन्। इराकमा रोजगारीको लागि जान नेपाल सरकारले अनुमति दिएको छैन्। उनीहरु अवैध बाटो तथा सेटिङमार्फत त्यहाँ पुगेका हुन्छन्। सरकारसँग इराकामा कति नेपाली छन् भन्ने पनि तथ्याङक छैन। अहिले इराकमा काम गरिरहेका केही नेपालीहरुको जागिरमा समस्या परेको छ। त्यसैले पनि उनीहरु त्यहाँबाट अन्यत्र पलायन हुन चाहेका छन्।

अध्यक्ष वाइवाका अनुसार नेपालीहरुले आफ्ना मालिकहरुलाई झुक्काएर युरोप जाने गरेका छन्। दलालको प्रलोभनमा परेका उनीहरुले विभिन्न वहाना गरेर राहदानी मागेर त्यहाँबाट भाग्ने गरेको उनको भनाइ छ।

इराकबाट अहिलेसम्म कति नेपाली यसरी युरोपका लागि बाहिरिए भन्ने यकिन तथ्याङक छैन्। विगत ८ वर्षदेखि कुर्दिस्तानमा रोजगारी गर्दै आएका वाइवाको यसरी २५ सयभन्दा बढी नेपाली सेटिङमार्फत युरोप तिर लागेको अनुमान छ।

केहीदिन अघिमात्रै इरानले यसरी अवैध बाटो हुँदै आफ्नो सीमा पार गर्न खोज्ने ५ सयभन्दा बढीलाई पक्राउ गरेको छ। त्यसमा थुप्रै नेपाली पनि हुनसक्ने आशंका गरिएको छ। इराकबाट दलालहरुले प्रहरीहरुसँग मिलेमत्तो गरेर इरान पठाउने र त्यहाँबाट कठिन जंगलको यात्राबाट अन्य मुलुकहरुमा छिराउने गरेका छन्। – डीसी नेपालबाट

सम्बन्धित समाचार