काठमाडौं । प्रभु बैंक लिमिटेडले मंसिर ६ गतेका लागि १८औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको केन्द्रिय कार्यालय, बबरमहलमा बोलाइएको सो सभाले बैंकको हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतले हुने रकम १ अर्ब ४२
करोड २८ लाख रूपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुने रकम ७ करोड ४८ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने बताइएको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख रहेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख पुग्नेछ ।
सो सभाले बैंकको सेयर स्वामित्व परिवर्तन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेगरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने कार्यक्रम रहेको छ । हाल बैंकमा संस्थापक समूहको ५५ प्रतिशत र सर्वसाधारण समूहको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ । सभामा अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि संचालक समितिलाई अख्तियारी पनि प्रदान गर्नेछ ।