काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सबै सूचांकमा प्रगति गरेको छ । कम्पनीले खुद बीमाशुल्क र नाफा दुबै बढेको वित्तीय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा खुद बीमाशुल्कसंगै नाफा पनि सुधार भएको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो ९५ लाख ९५ हजार रुपैयाँले बढी हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्सको खुद बीमाशुल्क बढेपछि नाफामा सुधार देखिएको हो । यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ८ करोड ८८ लाख रुपैयाँले बढेर ३२ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २६ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ६ करोड ८२ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट २ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी एक अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २३ करोड ९८ लाख रुपैयाँ, बीमा कोषमा ५७ करोड ३७ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड २२ लाख रुपैयाँ सञ्चित छ ।
इन्स्योरेन्सले यस अवधिसम्ममा ८० हजार ८८१ वटा बीमालेख जारी गरी ६८ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले २ हजार ३६२ वटा दाबी बापत २८ करोड ३४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ४१४ वटा दाबी बापत ३६ करोड १४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।