काठमाडौं । कोरोना संंक्रमणले बालबालिका र युवालाई आक्रान्त पारिरहेको बेला सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको बताइएकाे छ । मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको थियो भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको थियो । तर, सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा अलमल गर्दै आएको थियो ।