काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सर्वसाधारणलाई १५ प्रतिशत शेयर जारी गर्ने भएको छ। आगामी साधारणसभामा कम्पनीले उक्त प्रस्ताव लैजाँदै छ । कम्पनी स्थापना हुँदा नै १५ प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने अवधारणा राखिएको थियो । सोही व्यवस्थालाई केयुकेएलले कार्यान्वयनमा लैजान लागेको बताइएको छ । कम्पनीले हालै मेलम्चीको पानी उपत्यकामा वितरण गर्न सुरु गरेसँगै उसको बजार बिस्तार भएको छ। कम्पनीले मेलम्चीको पानी वितरण सुरु गरेसँगै उसको व्यवसायिक यात्रा थप बलियो बन्ने अनुमान गरिएको छ। कम्पनीमा सर्वसाधारणलाई शेयर जारी गर्दा कम्पनीप्रति सर्वसाधारणको समेत अपनत्व हुने र थप रकमले पानी सम्बन्धी बजार बिस्तारमा कम्पनीले लगानी गर्न सक्ने छ। आगामी दिनमा कम्पनीलाई मुनाफामा लैजाने गरी काम अघि बढाउन सर्वसाधारणका लागि शेयर जारी गर्न लागिएको बताइएको छ । हाल कम्पनीमा सबैभन्दा बढी महानगरपालिकाको शेयर स्वामित्व छ। काठमाण्डौ महानगर पालिका र ललितपुर महानगर पालिकाको जम्मा प्रति शेयर एक सय रुपैयाँ दरका एक लाख २० हजार कित्ता शेयर छन्। सबैभन्दा बढी लगानी गर्ने संस्थापकहरूमा नेपाल सरकार दोस्रो स्थानमा छ। भौतिक योजना तथा निर्माण मन्त्रालयको ९० हजार कित्ता शेयर छ। यसै गरी उद्योग वाणिज्य महासंघको नौ हजार कित्ता,नेपाल चेम्बर अफ कमर्सको २७ हजार कित्ता,भक्तपुर उद्योग वाणिज्य महासंघ र ललितपुर उद्योग वाणिज्य महासंघको ४५ सय कित्ताको दरको शेयर स्वामित्व छ। हाल कम्पनीको जारी पूँजी ४४ करोड रुपैयाँ छ। जसमा कम्पनीले चार लाख कित्ता साधारण शेयर र ४० लाख कित्ता अग्राधिकार शेयर मार्फत सङ्कलन गर्ने कम्पनीको प्रबन्ध पत्र नियमावलीमा उल्लेख छ। प्रबन्ध पत्र अनुसार यति बेला कम्पनीको कुल चुक्ता पूँजी दुई करोड ५५ लाख रुपैयाँ छ। कम्पनीले जारी पूँजीको १५ प्रतिशत हुने बराबरको शेयर सर्वसाधारणको लागि छुट्टाएको छ।