काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनका लागि सहमति खोज्न बसेको भनिएको सत्तारुढ नेकपा सचिवालयको बैठक अध्यक्ष द्वयको कार्यविभाजनको टुंगो लगाउँदै सकिएको छ । राष्ट्रपतिलाई भेटेर बालुवाटार छिरेका अध्यक्षद्वयले सचिवालय बैठकमा भने मन्त्रिमण्डलको पुनर्गठनको बारेमा ठोस निर्णय लिन सकेन । बैठकले सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र पार्टी सञ्चालन कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दाहाल प्रचण्डले गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब दुई अध्यक्षबीच केही समयदेखि देखिएको कार्यविभाजनको समस्या तत्कालका लागि टरेको छ ।
बैठकमा मन्त्रिमण्डल पुनर्गठनको विषयले ठोस निर्णय लिन नसके पनि दुई अध्यक्षबीच अनौपचारिक रुपमा पटक पटक छलफल भएको छ । सो छलफलको निचोडकै आधारमा आजै मन्त्रिमण्डल पुनर्गठन हुने स्रोतको दाबी छ । सत्तारुढ दलभित्र गुटगत सन्तुलन मिलाउन खोज्दा केही समय लागेको र हट्ने मन्त्रीको सूचि पनि छोटिएको नेकपा सचिवालयका एक सदस्यले बताए । यता, आजै मन्त्रिमण्डल पुनर्गठन हुने र नयाँ मन्त्रीहरुले सपथ लिने चर्चासँगै राष्ट्रपति कार्यालय सपथका लागि तयारी अवस्थामा बसेको बताइएको छ ।
कार्यालय समय ४ बजे सकिने भए पनि राष्ट्रपति कार्यालयका कर्मचारीहरु आजै नयाँ मन्त्रीको सपथ हुने अनौपचारिक सूचनाका आधारमा कार्यालय कुरेर बसिरहेका छन् । राष्ट्रपति कार्यालयको तयारी भए पनि मन्त्री हटाउने र छान्ने कामको टुंगो नलागेको हुनाले आजको सपथ भोलिका लागि सर्न सक्ने सम्भावना रहेको नेकपा स्रोततले बतायो ।