free website hit counter

निलम्बित गभर्नरमाथि के के छन् आरोप

beemaadmin
२०७८ चैत्र २६, शनिबार

काठमाण्डौ । अनुशासनहीन काम गरी बदनाम गराएको आरोप लगाउँदै सरकारले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले उनलाई अनुशासनहीन काम गरेको, संस्थाको गोपनीयता कायम गर्न नसकेको, सुनियोजित रुपमा सरकारलाई बद्नाम गर्न लागिपरेको जस्ता संगीन आरोप लगाउँदै निलम्बन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयस्थित उच्च स्रोतले सरकारलाई निरन्तर असहयोग गर्दै आएका र अर्थमन्त्रीविरुद्ध खुल्ला रुपमै लागेका जस्ता आरोप पुष्टि हुँदै गएका कारण अधिकारीलाई निलम्बन गर्ने निर्णय गरिएको दाबी गरेको छ ।
अधिकारीमाथि लागेको आरोपहरुबारे छानविन गर्न पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति समेत बनेको छ । समितिलाई गभर्नरमाथि लागेका आरोपका बारेमा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने म्याण्डेड दिइएको छ । निलम्बित गभर्नर अधिकारीले बिजशालासँग कुरा गर्दै आफूलाई पनि सो विषयमा जानकारी आइसकेको पुष्टि गरे । आफूमाथि छानबिन गर्न समिति बनेको जानकारी आएको उल्लेख गर्दै उनले भने, ममाथि लागेका आरोपको विषयमा समितिले पनि हेर्ला नै । यसमा अहिले नै मेरो भन्नु केही छैन ।
स्रोतले बिहीबारकै मन्त्रीपरिषद बैठकबाट गभर्नर निलम्बनको निर्णय गरिएको र कामु गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको दाबी गरेको छ । तर, आजदेखि निर्वाचन आचारसंहिता लागेका कारण सरकारी अधिकारीहरुले गभर्नर निलम्बनलाई वैधानिक बनाउन यस्तो दाबी गरेको देखिन्छ । किनभने सरकारले हिजोको मन्त्रीपरिषद बैठकको निर्णय आज सार्वजनिक गर्दा गभर्नर निलम्बनको कुरा कतै उल्लेख गरिएको थिएन । राष्ट्रबैंकले आयोजना गरेको एक कार्यक्रममा समेत अधिकारी गभर्नरकै रुपमा सहभागी थिए । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्थमन्त्री जनार्दन शर्मा सहभागी थिए । सो कार्यक्रममा देशको अर्थतन्त्रको विषयलाई लिएर गभर्नर र अर्थमन्त्रीको वादविवाद नै परेको थियो । सो कार्यक्रममा अर्थमन्त्री शर्मा निकै आक्रोशित मुद्रामा प्रस्तुत हँुदै गभर्नरमाथि खनिएका थिए । अमेरिकाबाट एक व्यवसायीले ल्याउन खोजेको केही करोडमा अर्थमन्त्रीले खेलेको सहयोगी भूमिकाको विषयमा गभर्नरले गोपनीयता कायम गर्न नसकेको र सुनियोजित रुपमा सरकारविरुद्ध मिडियावाजी गरेको अर्थमन्त्रीले खुल्ला रुपमै आरोप लगाएका थिए । यस्तो आरोप लगाएको केही घण्टामै गभर्नर निलम्बनको खबर बाहिर ल्याइएको हो।

सम्बन्धित समाचार