काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले हालै प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिएको विषयमा प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । समितिले धितोपत्र बोर्डलाई पत्र काट्दै हिमालयन रिलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति दिएको विषयमा सोधखोज गरेको हो । लगानीकर्ताहरुले केहि दिन अगाडि हिमालयन रिइन्स्योरेन्सको आईपीओ अनुमति नियमसंगत नभएको भन्दै समितिमा उजुरी दिएका थिए, समितिका सदस्य लेखनाथ दाहालले भने, सोही उजुरीका आधारमा समितिले धितोपत्र बोर्डलाई यस विषयमा आवश्यक जानकारी र प्रक्रियाबारे लिखित रुपमा जानकारी पत्र काटेको हो । लेखा समितिले प्रिमियम आईपीओसम्बन्धमा पत्र काट्दै धितोपत्र बोर्डलाई प्रिमियम आईपीओ जारी गर्दा केकस्तो भएको हो, त्यससम्बन्धी नियमहरु के छन् सोसम्बन्धमा तत्काल जवाफसहित उपस्थित हुन भनेको छ । बोर्डलाई एक हप्ताभित्र पत्रको जवाफसहित उपस्थित हुन निर्देशन दिइएको छ । कम्पनीले आगामी कात्तिक २१ गतेदेखि प्रिमियम मूल्यमा ३ करोड कित्ता सेयर जारी गर्दैछ ।कम्पनीले आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउनेछ।