free website hit counter

धितोपत्र बोर्डले ८८ कम्पनीलाई गर्‍यो कारबाही

beemaadmin
२०८० मंसिर १३, बुधबार

काठमाण्डौ । कार्यकालको अन्तिम दिनहरु गन्दै बसेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले एकैपटक ८८ सूचीकृत कम्पनीलाई नगद जरीवाना र कारबाही गरेका छन् । समयमै वार्षिक वित्तीय विवरण नबुझाएका दोश्रो बजारमा सूचीकृत ८८ कम्पनीलाई उनले कारबाही स्वरुप नगद जरीवाना गरेका हुन् । कार्यकालको अन्तिम दिनहरु कुर्दै बसेका उनले काम गरेको देखाउन तथा अर्को कार्यकालमा समेत दोहोरिनका लागि एकैपटक ८८ कम्पनीलाई कारबाही गरेर स्टन्ट देखाएका कारबाहीमा परेका कतिपय कम्पनीका सञ्चालकहरुले बताएका छन् । एकैपटक ठूलो कारबाही गरी उनले धितोपत्र बोर्डको कानूनी आम्दानी समेत बढाउन खोजेको देखिने ती सञ्चालकले बताए । बोर्डले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही गरेको हो । यसरी कारबाहीमा पर्ने कम्पनीमध्ये अधिकांश जलविद्युत, माइक्रोफाइनान्स, वित्त कम्पनी र साना साइजकका बैंकहरु रहेका छन् । हमालले इतिहासमै पहिलोपटक एकैपटक यति धेरै कम्पनीलाई कारबाही गरिएको भन्दै गर्व गरेका छन् । कुल ८८ कम्पनीमध्ये ६९ वटाले ढिलो वित्तीय विवरण बुझाएका र बाँकीले हालसम्म वित्तीय विवरण नै नबुझाएका बोर्डको आरोप छ ।

सम्बन्धित समाचार