free website hit counter

६ महिनामा बीमाबाट बाहिरियो ७ अर्ब (किन बढ्दैछ बीमा पोलिसी सरेन्डर भिडियो)

beemaadmin
२०८१ माघ ११, शुक्रबार

काठमाडौं । जीवन बीमा पोलिसी सरेन्डर गर्नेको संख्या हरेक महिना बढ्दै गएको छ । आर्थिक वर्ष २०८१–८२ को कात्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुको करिब ३६ हजार पोलिसी सरेन्डर भएकोमा मंसीर मसान्तसम्म पुग्दा यो संख्या ४५ हजार नाघेको थियो । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार मंसीर महिनासम्ममा ४५ हजार ६० वटा पोलिसी सरेन्डरबापत् ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको छ । पुस मसान्तसम्म पुग्दा यो संख्या बढे। ५४ हजार ४ सय १४ वटा पोलिसी सरेन्डर भएर ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ जीवन बीमा कोषबाट बाहिरिएको छ । जीवन बीमा पोलिसी लामो अवधिको हुन्छ। उक्त पोलिसीमा तोकिएको समय रुपमा केही रकम प्रिमियमस्वरुप तिर्नुपर्ने हुन्छ । आवधिक रुपमा पोलिसी तिर्न नसक्ने अवस्थामा बीमा गर्ने व्यक्तिले उक्त बीमालाई निरन्तरता नदिईकन बीचैमा बन्द गर्ने अवस्थालाई पोलिसी सरेन्डर भन्ने गरिन्छ । पोलिसी सरेन्डर गर्दा बिमितले पाउनुपर्ने रकमबाट केही प्रतिशत रकम बीमा कम्पनीले काटेर मात्रै बिमितलाई बाँकी रकम हस्तारन्तरण गर्ने गरिन्छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधिका कारण बीमा पोलिसी सरेन्डरको दर बढ्दै गएको हो । बीमा एजेन्टले बीमाको सकारात्मक पक्षको बारेमा मात्रै बढाई चढाई वर्णन गर्ने र सकेसम्म धेरै रकमको बीमा गराउने परिपाटी छ । पहिलोपटक बीमा एजेन्टले पनि मोटो रकम कमिसनको रुपमा हात पार्ने गर्दछन् । बीमासम्बन्धी जानकारहरुका अनुसार बीमा एजेन्टले आफ्नो आम्दानीको कति प्रतिशतसम्म बीमा प्रिमियममा खर्च गर्ने भन्ने बारे पर्याप्त जानकारी नदिँदा पछि बीमा प्रिमियम तिर्न नसकेर सरेन्डर गर्नेहरु बढेको बताउँछन । प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये ६ महिनामा एलआइसी नेपालको पोलिसी सरेन्डर सर्वाधिक देखिएको छ । एलआइसी नेपालको १३ हजार ९६८ वटा पोलिसी सरेन्डर भएर २ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ रकम बाहिरिएको हो । त्यस्तै, नेपाल लाइफको १२ हजार २४१ वटा बीमा पोलिसी वापत २ अर्ब २ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ७ हजार २०७ वटा बीमा पोलिसी वापत ६७ करोड ६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो । एशियन लाइफको ४४ सय ५ वटा बीमा पोलिसीवापत ४६ करोड ८१ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ। त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको ३ हजार ५९० वटा बीमा पोलिसी सरेन्डर भएर ३३ करोड २३ लाख रुपैयाँ रकम बाहिरिएको छ । नेसनल लाइफको ३१ सय चार वटा पोलिसी वापत ४६ करोड ५१ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । सूर्य ज्योति लाइफ इन्स्योरेन्सको २९ सय ४० वटा बीमा पोलिसी सरेन्डर हुँदा ३८ करोड ९४ लाख रुपैयाँ बाहिरिएको छ भने मेट लाइफको १७ सय ९४ वटा बीमा पोलिसी वापत १९ करोड ६६ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । पुराना जीवन बीमा कम्पनीहरुको पोलिसी सरेन्डर दर बढी छ भने तुलनात्मक रुपमा नयाँ कम्पनीहरुको पोलिसी सरेन्डर दर कम रहेको तथ्यांकले देखाएको छ । तुलनात्मक रुपमा नयाँ सन नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायल नेपाल लाइफ, आईएमई लाइफलगायतको सरेन्डर दर कम रहेको देखिन्छ । नयाँ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सको बीमा सरेन्डर बढी देखिएको छ । कम्पनीले १३ सय ८८ वटा बीमा पोलिसी सरेन्डर हुँदा ११ करोड ५८ लाख रुपैयाँ रकम भुक्तानी गरेको तथ्यांक छ । आइएमई लाइफको ९०८ वटा बीमा पोलिसी वापत ९ करोड ८६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ९४२ वटा बीमा लेख सरेन्डरबापत् १३ करोड १२ लाख रुपैयाँ भुक्तानी भएको छ । रिलावल नेपाल लाइफ इन्स्योरेन्सको ८ सय ६३ वटा पोलिसी सरेन्डर हुँदा ५ करोड ५६ लाख रुपैयाँ बाहिरिएको छ भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ सय ३ वटा पोलिसी सरेन्डर हुँदा ९ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । सबैभन्दा कम बीमा पोलिसी सरेन्डर भने सन नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीको ६ महिनाको दौरान ३ सय ६१ वटा पोलिसी सरेन्डर भएर ३ करोड ५२ लाख रुपैयाँ रकम बाहिरिएको छ ।

सम्बन्धित समाचार