काठमाडौं । सामाजिक मर्यादा सिकाउनु पर्ने एउटा जिम्मेवार कलाकारले आफ्नो कर्तव्य र दायित्व भुल्न पुग्दा सिंगो समाजलाई उनले के दिँदैछिन् भन्ने प्रश्न उठ्न पुगेको छ । उनै आस्था राउत अहिले आफ्नो गल्तीका कारण आफैं चाउरिन पुगेकी छिन् । गायिका आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीले अनुमति दिएको छ । अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिप्रका काठमाडौंले पक्राउ गर्न अनुमति दिएको हो ।
बधुबार काठमाडौं–भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन् ।
भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो । त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो ।
विमानस्थलको सीसीटिभी फुटेजबाट आस्थामाथि दुर्व्यवहार नभइ, उनले चाहिँ महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएको भन्दै प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत किटानी जोहरी दिएको थियो ।