काठमाडौं । स्वास्थ्य बीमाको दावीमा सरकारले अस्पतालहरुलाई दिनुपर्ने भुक्तानी नौ अर्ब २५ करोड रुपियाँ देखिएको छ । स्वास्थ्य बीमा बोर्डबाट प्राप्त एक तथ्यांकले चालु आर्थिक बर्ष २०८२–८३ को साउनदेखि कात्तिकसम्मको अवधीको बक्यौता सो बराबर देखिएको हो । अस्पतालले बीमितको उपचार गरेबापत बोर्डमा सो बराबरको दावी गरेका हुन् । बिगतमा बोर्डले लामो समयसम्म अस्पतालहरुलाई आफ्नो दायित्व तिर्न सकेको थिएन । केही समय अघि मात्रै गत आवसम्मको बक्यौता तिरेको थियो । तर, चालु आवको पहिलो चार महिनामै बोर्डले अस्पताललाई तिर्नुपर्ने दायित्व सवा नौ अर्ब थपिएको हो । अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट बजेट निकासा भएपछि उक्त दायित्व भुक्तानी हुने बोर्डका अधिकारीहरु बताउँछन् । बोर्डले असोजसम्मको दावीमा ३२ प्रतिशत भुक्तानी दिइसकेको छ । त्यसपछि पनि कुल बक्यौता सवा नौ अर्ब देखिएको हो । सरकारले २०७२ चैत २५ गते स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । नेपालमा यो सेवा सुरु भएको साढे नौ बर्ष भएको छ । यस अन्तरगत सर्वसाधारणले व्यापाक सेवा लिइरहेका छन् । त्यसले गर्दा पनि यसबापत आउने दावी भुक्तानी उच्च छ । यसमा पाँच जनासम्मको परिवारले ३५ सय रुपियाँ शुल्क तिरेर बार्षिक एक लाख रुपियाँ बराबरको स्वास्थ्य उपचार सेवा पाउने छन् । तोकिएको अस्पतालमा बीमितहरुले स्वास्थ्य बीमा अन्तरगत उपचार गर्न सक्छन् । यसमा सेवाग्राहीले २० प्रतिशत रकम भने तिर्नुपर्छ । बाँकी ८० प्रतिशत रकम भने बीमाले कभर गर्छ । त्यस अन्तरगत भएको खर्च अस्पतालले बिरामीसँग नलिएर बोर्डमा दावी गर्नुपर्छ । त्यसपछि बोर्डले आवश्यक प्रक्रिया पुरा गरेर अस्पताललाई भुक्तानी गर्नुपर्छ । अहिले स्वास्थ्य बीमामा पाँच सय भन्दा बढी अस्पताल आवद्ध छन् । ६५ लाख भन्दा बढी नागरिकले स्वास्थ्य बीमा गरेका छन् । बीमशुल्कबाट हुने आम्दानी न्यून र खर्च बढी हुँदा बोर्डलाई यसको दायित्व बहन गर्न भने चुनौती भइरहेको छ । हालसम्म बोर्डले सरकारबाट अनुदान लिएस दावी भुक्तानी दिइरहेको छ । बोर्डले बीमाशुल्कबाट बार्षिक चार अर्ब रुपियाँ हारहारीमा आम्दानी गर्दै आएको छ, जुन रकमले बीमितको उपचार खर्च धान्न सक्दैन । त्यो अवस्थामा सरकारबाट अनुदान लिएर बीमितको उपार खर्च बापत अस्पतालहरुलाई भुक्तानी दिइन्छ । तर, बिगतमा सरकारले समयमै अनुदान बापतको रकम भुक्तानी गन ढिलाई गरेको थियो । अहिले सरकारले यस्तो भुक्तानी दिइरहेको छ । साथै, नयाँ दावी पेश पनि उच्च छ ।