काठमाडौं । ठूल्ठूला प्राकृतिक विपत्तिको सामना गरेका नेपालका निर्जिवन बीमा कम्पनीहरु त्यसपछि भएको जेनजी आन्दोलनका कारण नाफा घट्ने अवस्थामा पुगेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ४१ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेका हुन् । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ३५ करोड ८६ लाख रुपैयाँ मुनाफा आर्जन गरेका थिए । प्रकाशित तथ्यांक अनुसार ६ वटा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा गत आर्थिक वर्षको तुलनामा घटेको छ भने एक वटाको मात्र बढ्न सफल भएको छ । यस अवधिमा पाँच वटा कम्पनीहरुको खुद नाफा ऋणात्मक रहेको अवस्थामा द ओरियण्टल र नेशनल चाँही ऋणात्मक खुद नाफाबाट बाहिर निस्किन सफल भएको छ । समीक्षा अवधिमा प्रभु इन्स्योरेन्स कम्पनीको मुनाफामात्र गत आर्थिक वर्षको तुलनामा बृद्धि भएको छ । कम्पनीको खुद नाफा गत आर्थिक वर्षको तुलनामा २।०१ प्रतिशतले बढेर १२ करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीको मुनाफा गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड रुपैयाँ रहेको थियो । निर्जीवन बीमा कम्पनीहरुमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ । कम्पनीले पौष मसान्तसम्ममा १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ , गत आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफा ६०।३४ प्रतिशतले घटेको छ । जेन–जी आन्दोलनमा ठूलो मात्रामा बीमा दावी परेको द ओरिण्टल इन्स्योरेन्सले ऋणात्मक रहेको नाफाबाट बाहिर निस्किदै १६ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । साथै, नेशनल इन्स्योरेन्सले ६ करोड १० लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले तीन करोड ७३ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक करोड ५७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले एक करोड १० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले एक करोड सात लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । समीक्षा अवधिमा शिखर इन्स्योरेन्स चार करोड ४७ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्स नौ करोड ५९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको १० करोड ६६ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १७ करोड ८५ लाख रुपैयाँ र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १८ करोड ११ लाख रुपैयाँ मुनाफा ऋणात्मक रहेको छ ।