free website hit counter

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुई तिहाइ सिट जित्ने देखिएको छ। शुक्रबार साझसम्म प्रत्यक्षतर्फको १६५ मध्ये १५६ क्षेत्रको मतगणना जारी छ। तीमध्ये ११० क्षेत्रमा रास्वपा अगाडि देखिन्छ। कांग्रेस १३ र नेकपा एमाले ११ स्थानमा अगाडि छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ७ स्थानमा अगाडि छ। १६५ मध्ये ७ क्षेत्रको परिणाम आउँदा रास्वपा ३, कांग्रेस २ र नेकपाले २ सिट जितिसकेका छन्। एकाध पहाडी र हिमाली जिल्लाको प्रारम्भिक नतिजा आउन बाँकी छ। कोसी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १६ सिटमा अग्रता लिएको छ। कोसीमा श्रम संस्कृति पार्टी ६, कांग्रेस र एमाले २–२ सिटमा अगाडि छन्। एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ मा रास्वपाका बालेन्द्र शाहसँगको प्रतिस्पर्धामा निकै पछाडि छन् कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई मोरङ ६ मा रास्वपाकी रुविना आचार्यले ठूलो अन्तरले पछाडि पारेकी छन्। मधेस प्रदेशका ३२ सिटमध्ये ३० सिटमा रास्वपाको अग्रता छ भने कांग्रेस र एमाले १–१ सिटमा अगाडि छन्। सर्लाही ४ मा रास्वपाका अमरेश सिंहले कांग्रेस सभापति गगन थापासँगको अग्रता फराकिलो बनाउँदै लगेका छन्। मधेसमा स्थापित जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत पनि पछाडि देखिन्छन्। बागमती प्रदेशका ३३ सिटमा रास्वपा २२ मा अगाडि छ भने कांग्रेस २, एमाले १ र नेकपाको ३ स्थानमा मात्र अग्रता छ। काठमाडौँ ५ मा कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले नेता ईश्वर पोखरेल निकै पछाडि पर्दा काठमाडौँ उपत्यकाका १५ सिटमा रास्वपाले क्लिनस्विप गर्ने सम्भावना देखिँदैछ। नेपाल मजदुर किसान पार्टीको गढ मानिएको भक्तपुर १ मा समेत रास्वपा उम्मेदवार रुकेश रञ्जितको अग्रता कायमै छ। यस्तै, गण्डकी प्रदेशका १८ सिटमा रास्वपा १३ स्थानमा अगाडि छ भने एमालेले एक ठाउँमा अग्रता लिएको छ। मनाङ र मुस्ताङ जितेको कांग्रेसको अन्य क्षेत्रमा अहिले अग्रता छैन। लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये रास्वपा १८ सिटमा अगाडि हुँदा कांग्रेस ३, एमाले २ र नेकपा २ सिटमा अगाडि छन्। रुकुम पूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित हुँदा रूपन्देही २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल र दाङ २ मा महासचिव शंकर पोखरेललाई रास्वपा उम्मेदवारले फराकिलो अग्रताले पछाडि पारेको अवस्था छ। कर्णाली प्रदेशमा भने रास्वपाको प्रभाव केही कम देखिन्छ। १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा कांग्रेस ३, नेकपा २ तथा एमाले, राप्रपा र रास्वपा १–१ सिटमा अगाडि छन्। बाँकी क्षेत्रको मतगणना प्रारम्भिक नतिजा आएको छैन। यता, कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा पनि रास्वपाको अग्रता छ। १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा रास्वपा ८, कांग्रेस ३, एमाले ४ र नेकपा १ सिटमा अगाडि छ। २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ। हालसम्मको अवस्था हेर्दा प्रत्यक्षतर्फ मात्रै रास्वपाले १२० हाराहारी सिट जित्न सक्ने देखिन्छ। त्यसकारण समानुपातिकतर्फको ११० सिटमध्ये ६० प्रतिशत सिट जित्दा पनि रास्वपाको दुई तिहाइ पुग्छ। समानुपातिकतर्फ भर्खर ३३ हजार मत गणना भएको छ। जसमा रास्वपाले १९ हजार मत हासिल गरिसकेको छ। खासगरी सहरी क्षेत्र र तराई–मधेसका जिल्लाबाट रास्वपाले कांग्रेस र एमालेलाई विस्थापित गरेको देखिन्छ। यी क्षेत्रमा दशकौँदेखि पकड बनाएका यी पुराना दल पहाडी र हिमाली जिल्लामा धकेलिएका छन्। यी दलहरूलाई पूर्वी पहाडी भेगमा पनि हर्क साम्पाङको श्रम संस्कृति पार्टीले धक्का दिएको छ। अर्कोतिर कांग्रेस एमालेका पदाधिकारी र चर्चित नेताहरू चुनाव हार्ने दिशामा छन्। बरू कम परिचित उम्मेदवारहरूले सीमित सिटमा अग्रता लिएका छन्। मत परिणामबाट रास्वपा अत्यन्त उत्साहित छ। उपसभापति डीपी अर्यालले सरकार बनाएर काम गरेपछि मात्र जनतासँग विजय र्‍याली गर्ने बताए। चुनावको यस्तो नतिजाले कांग्रेस र एमालेलाई भने स्तब्ध बनाएको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले नयाँ–पुरानोको भाष्य र नयाँप्रतिको अपेक्षाले यो परिणाम आएको बताए। मतदाताले दिएको परिणामलाई आत्मसात गरेर गम्भीर समीक्षा गरी अगाडि बढ्ने उनको भनाइ छ। निर्वाचनको परिणामलाई चाँडै केन्द्रीय समिति बैठक बसेर पार्टीले गम्भीर आत्मसमीक्षा गर्ने उनको भनाइ छ। कांग्रेसले संयम र परिपक्वताका साथ राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्ने भन्दै शर्माले पराजयको यो घडीमा निराश नहुन, संयम अपनाउन र एकताबद्ध रहेर ऊर्जाशील बन्न पार्टीपंक्तिलाई आग्रह गरेका छन्। यस्तै एमालेका उपाध्यक्ष रघुजी पन्तले अनपेक्षित परिणाम आएको बताए। परिणाम आइसकेपछि पार्टीले आन्तरिक समीक्षा गर्ने उनले बताए। नेकपाका प्रवक्ता अग्नि सापकोटाले यो निर्वाचनमा प्रियतावादी रुझानका साथै भावनात्मक र व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताए। विश्लेषकहरू भने पुराना दलको गत दशकको बेइमानी र निकम्मापन अनि जेनजी आन्दोलनपछि बालेन शाह र घण्टीको लहर हेर्दा यो नतिजा अस्वाभाविक नभएको बताइरहेका छन्। तथापि, रास्वपाबाहेक कुनै पनि दलले बलियो मत प्राप्त गर्न नसक्दा संसदमा बलियो प्रतिपक्षीको अभाव हुनसक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन्।

सम्बन्धित समाचार