काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो नेतृत्वको सरकार गठनका लागि गृहकार्य तीव्र बनाएका छन् । आफ्नो मन्त्रिपरिषदमा क–कसलाई समेट्ने भनेर उनले आन्तरिक छलफल गरिरहेको निकट स्रोतले बताएको छ । बालेनको नेतृत्वमा रास्वपाले झण्डै दुई तिहाइ बहुमतसहितको सुदृढ सरकार बनाउँदै छ । सरकारको आकार घटाउने र विज्ञताका आधारमा मन्त्रीहरु नियुक्त गर्ने तयारी बालेनले गरेका छन् । हप्ता–दस दिनमा नयाँ सरकार गठन गरिसक्ने गरी तयारी अघि बढेको छ । बालेनले आज पनि आन्तरिक छलफल जारी राख्ने छन् । यही व्यस्तताका कारण उनी रास्वपाले आयोजना गरिरहेको सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पाएका छैनन् । आज कार्यक्रम समापन हुँदैछ । हिजो उद्घाटन सत्रमा सभापति रवि लामिछाने र बालेन दुवै अनुपस्थित थिए । आज लामिछानेले समापन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । उनी पूर्णरुपमा स्वस्थ भइसकेका भने छैनन् । बालेन भने आज पनि जाने तयारी नरहेको स्रोतले बताएको छ । उहाँ सरकारमा जाने टीम बनाउन व्यस्त हुनुहुन्छ, अभिमुखीकरण कार्यक्रममा सायद जानुहुन्न, स्रोतले भन्यो । सरकारका केही मन्त्रीहरुबारे बालेनले सभापति रवि लामिछानेसँग प्रारम्भिक कुराकानी गरेका छन् । साथै, आफ्नो टीमभित्र उनी नियमित छलफल गरिरहेका छन् ।