काठमाडौं । पश्चिम एसियामा चलिरहेको अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण श्रमिकहरू घर फर्किन थालेका छन् । भौतिक सुरक्षा र रोजगारीको अन्यौलका कारण नेपालीहरू घर फर्किन थालेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यागमन विभागका अनुसार शुक्रबारसम्म करिब २,२९३ जना नेपाली स्वदेश फर्किसकेका छन् । यो संख्या पश्चिम एसियामा तनाव भएपछि घर फर्किन चाहनेहरूले भरेको फर्मको आधारमा तयार पारिएको हो । लगातार २३ दिनदेखि चलिरहेको तनावपूर्ण अवस्थाले श्रमिकहरूमा ज्यानको जोखिम महसुस गराएको छ। यद्यपि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अधिकांश नेपालीहरू सुरक्षित रहेको जनाएका छन् । फर्कन चाहनेका लागि हवाई सेवा केही सहज भएसँगै सरकारले विमान कम्पनीहरूसँग समन्वय सुरु गरेको छ। यद्यपि हालसम्म अधिकांश नेपाली आफ्नै खर्चमा फर्किरहेका छन्। फर्किएका मध्ये २०९ महिला र २,०८४ पुरुष रहेका छन्। सबैभन्दा धेरै १,०९२ जना कतारबाट फर्किएका छन् भने साउदी अरेबियाबाट ९७१ र ओमानबाट १२१ जना आएका छन्। विदेशमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न दूतावासहरूले सक्रिय भूमिका निभाइरहेका छन्। टिकट खरिदमा सहजीकरण, आवश्यक कागजातको व्यवस्था, र अलपत्र परेकालाई खाना तथा आश्रयको व्यवस्था गैरआवासीय नेपाली संघसँग मिलेर गरिँदै आएको छ। सरकारले हाल ‘पर्ख र हेर’ को रणनीति अपनाउँदै, आवश्यक परे सहयोग गर्ने र फर्कन चाहनेलाई सहजीकरण गर्ने नीति लिएको छ।