काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको तालिम तथा मनोरञ्जनात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। चितवनको नारायणगढमा बैशाख ६, ७ र ८ गतेसम्म तीन दिनसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा विविध क्षमता विकास तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएको थियो।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले व्यवसायिक जीवनमा सफल अभिकर्ताहरूलाई अझ सक्षम र प्रभावशाली बनाउन यस्ता तालिमहरू अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे।
उनले मनोरञ्जनलाई जीवनमा उर्जा प्रदान गर्ने महत्वपूर्ण पक्षका रूपमा व्याख्या गर्दै कम्पनीले ज्ञान र मनोरञ्जनलाई सँगसँगै अघि बढाउँदै आएको बताए।
कार्यक्रममा कम्पनीसँग आबद्ध १५० भन्दा बढी अभिकर्ता लिडरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका लाइफ इन्स्योरेन्स कोच काजिम रजाले बीमा विक्री कला तथा व्यवसायिक क्षमता अभिवृद्धि सम्बन्धी विशेष प्रशिक्षण दिएका थिए, जसले सहभागीहरूलाई थप उत्साह र प्रेरणा प्रदान गरेको थियो।
कार्यक्रमको अर्को प्रमुख आकर्षणका रूपमा चर्चित कलाकारहरू चक्र दवाडी, सुबोध गौतम र सीता न्यौपानेको प्रस्तुति रहेको थियो। उनीहरूको मनोरञ्जनात्मक प्रस्तुतिले सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूका लागि निरन्तर रूपमा प्रेरणादायी, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।