काठमाडौं । नयाँ सरकार गठनसँगै राजनीतिक स्थायित्व र लगानीमैत्री वातावरणको अपेक्षा गरिँदै आएको अवस्थामा पछिल्ला दिनहरूमा उद्यमी–व्यवसायीमाथि भइरहेको पक्राउ तथा थुनछेकका घटनाप्रति निजी क्षेत्रले गम्भीर असन्तुष्टि जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरू—चन्द्रप्रसाद ढकाल, वीरेन्द्रराज पाण्डे र कमलेशकुमार अग्रवाल—ले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्ता कदमले निजी क्षेत्रलाई निरुत्साहित र भयभीत बनाएको बताएका छन्।
विज्ञप्तिमा अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिँदै आएको निजी क्षेत्र असुरक्षित महसुस गरेमा राजस्व संकलन, पूर्वाधार विकास र आपूर्ति शृङ्खलामा नकारात्मक प्रभाव पर्ने चेतावनी दिइएको छ। आर्थिक कसुरका विषयमा “पहिले सुन्ने, प्रमाणित भएपछि मात्र थुन्ने” कानुनी सिद्धान्त अपनाउन सरकारसँग आग्रह गरिएको छ।
व्यवसायीहरूले अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए पनि पक्राउ गर्ने प्रवृत्तिले निजी क्षेत्र चिन्तित बनेको उनीहरूको भनाइ छ। यस्तो कार्यले व्यक्तिगत प्रतिष्ठामात्र होइन, रोजगारी, बैंकिङ प्रणाली र समग्र अर्थतन्त्रमा समेत असर पार्ने उनीहरूको निष्कर्ष छ।
सरकारले हालै ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ पारित गरेको सन्दर्भ उल्लेख गर्दै, यस्ता घटनाले लगानीकर्तामा थप अन्योल र असुरक्षा बढाएको पनि विज्ञप्तिमा उल्लेख छ। कसुर प्रमाणित भए कारबाही हुनुपर्छ भन्नेमा असहमति नभए पनि संविधानले सुनिश्चित गरेको अधिकार र निर्दोषको सिद्धान्तको सम्मान गर्न माग गरिएको छ।
विगत केही वर्षदेखि सुस्त रहेको अर्थतन्त्रले वर्तमान सरकारबाट नीतिगत स्थिरता र व्यवसायमैत्री व्यवहारको अपेक्षा राखेको जनाउँदै, लगानी वातावरण सुरक्षित बनाउन सरकार र सम्बन्धित पक्षहरूलाई पहल गर्न आग्रह गरिएको छ।
उद्योगी शेखर गोल्छालाई प्रहरीले नियन्त्रणमा लिएपछि उक्त प्रतिक्रिया सार्वजनिक गरिएको हो। उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले जनाएको छ।