free website hit counter

एनआईसी एशिया बैंकको नाफा घट्याे

beemaadmin
२०८३ बैशाख १५, मंगलवार

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले १४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले कम हो। गत वर्ष यसै अवधिमा बैंकले १५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको खुद नाफा घट्नुमा मुख्य कारण खुद ब्याज आम्दानीमा आएको कमी हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी २०.७८ प्रतिशतले घटेको छ। यद्यपि, खुद शुल्क तथा कमिशन आम्दानी भने ८.५३ प्रतिशतले बढेको छ।

त्यस्तै, कुल सञ्चालन आम्दानी १६.४५ प्रतिशतले घट्दा सञ्चालन मुनाफा झन्डै आधा घटेर ४७.८६ प्रतिशतले कमी आएको छ। इम्पेरमेन्ट चार्ज भने ३ अर्ब ५ करोड रुपैयाँबाट घटेर २ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ।

नाफा घटेसँगै प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। समीक्षा अवधिमा EPS १६ पैसा घटेर १ रुपैयाँ २५ पैसामा पुगेको छ। चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १३ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २९२.०४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ९७ पैसा कायम भएको छ।

१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमाससम्म बैंकले ३ खर्ब ३४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सम्बन्धित समाचार