free website hit counter

सानिगाड हाइड्रोकाे आईपीओ जेठ १४ गतेदेखि निष्काशन

beemaadmin
२०८३ जेष्ठ ५, मंगलवार

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जेठ १४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि तथा ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ ।

त्यसैगरी, १ लाख ७१ हजार कित्ता शेयर कम्पनीका कर्मचारी र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

अब कम्पनीले बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरको कुल मूल्य ४६ करोड ७४ लाख रुपैयाँ बराबर हुनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा जेठ २० गते र ढिलोमा जेठ २८ गतेसम्म तोकिएको छ ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।

सानिगाड हाइड्रोले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.२५ वर्ष रहेको छ भने डिस्काउन्टेड पेब्याक अवधि १४.६९ वर्ष रहेको छ ।

सम्बन्धित समाचार