काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई रकम फिर्ता गरेको हो।
समितिका अनुसार कृषि सहकारीका ८८ जना तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्।
यसअघि समितिले कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना गरी कुल ३ सय ७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरिसकेको थियो।
समितिका अनुसार पहिलो चरणमा कम रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकतामा राखेर भुक्तानी गरिएको हो। आगामी दिनमा पनि बचत रकमको आधारमा वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गरिने जनाएको छ।
हाल समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिको तथ्यांक छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको बताइएको छ।
समितिले पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेको छ। कुल बचतकर्तामध्ये करिब १८ हजार जनाले पाँच लाखभन्दा बढी रकम बचत गरेको समितिले जनाएको छ।