free website hit counter

स्वास्थ्य बीमा दिगो बनाउन पुनर्संरचना आवश्यक : अर्थमन्त्री वाग्ले

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा दिगो, व्यवस्थित र सबै नागरिकको पहुँचमा पुग्ने गरी पुनर्संरचना गरिने बताएका छन्।

प्रतिनिधिसभामा स्वास्थ्य बीमासम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिँदै उनले स्वास्थ्य बीमा कार्यक्रम अहिले जटिल अवस्थामा पुगेको स्वीकार गर्दै यसको सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए।

Advertisement
Advertisement

उनले स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको जानकारी दिँदै विगतका सरकारले स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको र त्यसपछि थप २ अर्ब रुपैयाँ व्यवस्था गरेको स्मरण गराए। वर्तमान सरकारले पनि थप ७ अर्ब रुपैयाँ बजेट उपलब्ध गराइसकेको भए पनि बक्यौता दायित्व अझै बाँकी रहेको उनको भनाइ थियो।

Advertisement
Advertisement

“अझै बक्यौता छ। कसरी भुक्तानी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। असीमित दायित्व थप्दै जाने मात्र समाधान होइन। त्यसैले यथार्थ मूल्याङ्कनका आधारमा स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्नुपर्ने आवश्यकता देखिएको छ,” उनले भने।

अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमालाई सार्वभौमिक स्वास्थ्य पहुँच (युनिभर्सल हेल्थ कभरेज) को अवधारणाअनुसार अघि बढाउनुपर्नेमा जोड दिए। हालको प्रणालीमा दुरुपयोगका समस्या देखिएको उल्लेख गर्दै उनले धेरैभन्दा धेरै नागरिकलाई बीमा कार्यक्रममा आबद्ध गराउनुपर्ने बताए।

“अहिलेको प्रणालीमा दुरुपयोगको समस्या छ। बीमा सफल हुनका लागि ठूलो जनसंख्या आबद्ध हुनुपर्छ। युवा वर्ग सहभागी नभई वृद्ध र बिरामी समूहको उपचार खर्च मात्र बढ्ने अवस्था रहिरहे बीमा प्रणाली दीगो हुन सक्दैन,” उनले स्पष्ट पारे।

उनले विपन्न तथा गरिब नागरिकलाई प्रिमियम तिराउन नहुने धारणा राख्दै राज्यले अनुदानमार्फत उनीहरूलाई स्वास्थ्य बीमामा समेट्नुपर्ने बताए। चुरोट, मदिरा तथा चिनीजन्य वस्तुमा लगाइने ‘सिन ट्याक्स’ को निश्चित हिस्सा स्वास्थ्य बीमा कोषमा परिचालन गर्नुपर्ने सुझाव पनि उनले दिए।

अर्थमन्त्री वाग्लेले राज्यले थप स्रोत सुनिश्चित गर्नुपर्ने र सक्षम नागरिकले योगदानका आधारमा सेवा प्राप्त गर्ने व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी, समावेशी र दिगो बनाउने दिशामा सरकार अघि बढिरहेको बताए।

सम्बन्धित समाचार