काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा विकास बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १७ विकास बैंकहरूले वैशाख मसान्तसम्म कुल ६ अर्ब २८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.२३ प्रतिशत बढी हो। गत वर्ष वैशाख मसान्तसम्म विकास बैंकहरूको कुल नाफा ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ रहेको थियो।
बैंकहरूको कोष लागत (कस्ट अफ फण्ड) घट्नु, कर्जा व्यवस्थापनमा सुधार आउनु, सञ्चालन खर्च नियन्त्रणमा रहनु तथा केही बैंकको खराब कर्जा अनुपात घट्नु नाफा वृद्धिका प्रमुख कारण मानिएको छ।
वैशाख मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउने विकास बैंकमध्ये गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहेका छन्।
गत वर्षको तुलनामा गरिमाको नाफा ३८.९५ प्रतिशत र मुक्तिनाथको २६.१८ प्रतिशत ले वृद्धि भएको छ।
अन्य नाफामा रहेका विकास बैंकहरूको विवरण यसप्रकार छः
| बैंक | नाफा |
|---|---|
| शाइन रेसुङ्गा विकास बैंक | ८९ करोड ३९ लाख |
| ज्योति विकास बैंक | ७२ करोड ४९ लाख |
| कामना सेवा विकास बैंक | ६७ करोड २ लाख |
| लुम्बिनी विकास बैंक | ६३ करोड ६ लाख |
| सांग्रिला डेभलपमेन्ट बैंक | ५४ करोड ६० लाख |
| महालक्ष्मी विकास बैंक | ४६ करोड ३८ लाख |
| एक्सेल डेभलपमेन्ट बैंक | १४ करोड ६३ लाख |
| मितेरी डेभलपमेन्ट बैंक | १० करोड ३५ लाख |
| सप्तकोशी डेभलपमेन्ट बैंक | ५ करोड ८६ लाख |
| ग्रीन डेभलपमेन्ट बैंक | ४ करोड ५५ लाख |
| कर्पोरेट डेभलपमेन्ट बैंक | २ करोड ८७ लाख |
समीक्षा अवधिसम्म चार विकास बैंक भने घाटामा रहेका छन्।
गत वर्षको तुलनामा सबैभन्दा उच्च नाफा वृद्धि गर्ने विकास बैंक लुम्बिनी विकास बैंक बनेको छ। बैंकले एक वर्षको अवधिमा आफ्नो नाफा ४२८.७० प्रतिशत ले बढाएको छ।
विकास बैंकहरूको समग्र वित्तीय स्वास्थ्यमा सुधार देखिएसँगै बैंकिङ क्षेत्रको स्थायित्व र नाफामुखी क्षमता थप सुदृढ हुँदै गएको संकेत देखिएको छ।