काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय उल्लेखनीय रूपमा विस्तार भएको छ। नयाँ बीमालेख बिक्रीबाट संकलित फर्स्ट इयर प्रिमियम (एफवाईपी) अघिल्लो वर्षको तुलनामा करिब २८ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले साउनदेखि चैत मसान्तसम्म कुल ३३ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ फर्स्ट इयर प्रिमियम संकलन गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम २६ अर्ब २१ करोड ९१ लाख रुपैयाँ थियो। यस आधारमा नयाँ व्यवसायबाट प्राप्त प्रिमियम आम्दानी २७.९६ प्रतिशतले बढेको देखिन्छ।
समीक्षा अवधिमा नयाँ व्यवसायबाट सबैभन्दा बढी प्रिमियम संकलन गर्दै नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले ८ अर्ब ६१ करोड ७० लाख रुपैयाँ फर्स्ट इयर प्रिमियम संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३९.४१ प्रतिशत बढी हो।
दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ४ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ। त्यस्तै, एलआईसी नेपालले २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ तथा सिटिजन लाइफले २ अर्ब १० करोड ३८ लाख रुपैयाँ नयाँ व्यवसायबाट भित्र्याएका छन्।
अन्य कम्पनीमध्ये आईएमई लाइफले १ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ, एशियन लाइफले १ अर्ब ९१ करोड रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ७८ करोड ९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ५५ करोड २० लाख रुपैयाँ तथा रिलायबल नेपाल लाइफले १ अर्ब ५१ करोड १२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।
त्यसैगरी प्रभु महालक्ष्मी लाइफले १ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब १९ करोड १७ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब १६ करोड २९ लाख रुपैयाँ तथा राष्ट्रिय जीवन बीमा कम्पनीले ९१ करोड ५६ लाख रुपैयाँ फर्स्ट इयर प्रिमियम संकलन गरेका छन्।
वृद्धिदरका आधारमा भने राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको नयाँ व्यवसाय १२५.०९ प्रतिशतले बढेको छ। दोस्रो स्थानमा रहेको आईएमई लाइफको वृद्धिदर ७२.७८ प्रतिशत रहेको छ।
त्यसपछि सिटिजन लाइफ (३९.४४ प्रतिशत), नेपाल लाइफ (३९.४१ प्रतिशत), रिलायबल नेपाल लाइफ (३६.६९ प्रतिशत), प्रभु महालक्ष्मी लाइफ (३६.२४ प्रतिशत), एशियन लाइफ (३५.४१ प्रतिशत), एलआईसी नेपाल (३०.६८ प्रतिशत) र नेशनल लाइफ (२१.४३ प्रतिशत) वृद्धिदरसहित अगाडि रहेका छन्।
सूर्यज्योति लाइफको नयाँ व्यवसाय २०.२५ प्रतिशत, मेट लाइफको १८.०४ प्रतिशत, सानिमा रिलायन्स लाइफको १७.५९ प्रतिशत तथा हिमालयन लाइफको ०.७२ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सको मात्र नयाँ व्यवसाय घटेको देखिएको छ। कम्पनीको फर्स्ट इयर प्रिमियम अघिल्लो वर्षको तुलनामा ३०.४८ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।
जीवन बीमा क्षेत्रमा नयाँ ग्राहकको आकर्षण बढ्दै जाँदा कम्पनीहरूको व्यवसाय विस्तार भएको देखिएको छ भने प्रतिस्पर्धा पनि थप तीव्र बनेको छ।