free website hit counter

नयाँ कर व्यवस्थापछि विद्युतीय गाडी महँगिए

beemaadmin
२०८३ असार १०, बुधबार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधन (ईभी) मा लागू गरेको नयाँ कर व्यवस्थापछि नेपाली बजारमा विभिन्न ब्रान्डका गाडीको मूल्य वृद्धि भएको छ। नयाँ कर संरचनाको प्रभाव विशेषगरी प्रिमियम सेग्मेन्टका विद्युतीय गाडीमा देखिएको छ।

यसअघि मोटरको क्षमता (किलोवाट) का आधारमा कर निर्धारण हुँदै आएकोमा अब गाडीको मूल्यका आधारमा कर लाग्ने व्यवस्था गरिएपछि उच्च मूल्यका ईभीको मूल्य उल्लेख्य रूपमा बढेको हो।

नेपालका लागि बीएमडब्लूको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सका अनुसार बीएमडब्लू आईएक्स वान मोडलको मूल्य सबैभन्दा धेरै बढेको छ। यसअघि १ करोड ९९ लाख ९६ हजार रुपैयाँमा उपलब्ध उक्त गाडीको मूल्य बढेर ३ करोड २९ लाख ९६ हजार रुपैयाँ पुगेको छ, अर्थात् एकैपटक १ करोड ३० लाख रुपैयाँ वृद्धि भएको छ।

बजारमा स्थापित बीवाईडी, दिपल, जिली, एमजी, ओमोडा–जेको, हुण्डाई तथा टाटा लगायतका ब्रान्डले पनि आफ्ना विभिन्न मोडलको मूल्य समायोजन गरेका छन्।

दिपल एस०५ प्लसको मूल्य ४ लाख रुपैयाँ र एस०५ म्याक्सको मूल्य ३ लाख रुपैयाँले बढेको छ। त्यसैगरी बीवाईडी एटो–३ मा २ लाख रुपैयाँ तथा एटो–२ मा ३ लाख रुपैयाँले मूल्य वृद्धि गरिएको छ। ओमोडा–जेको जे–६ को मूल्य १ लाख रुपैयाँ र आईकार भी–२३ को मूल्य ३ लाख रुपैयाँले बढेको छ।

जिली ईएक्स फाइभ म्याक्सको मूल्य ३ लाख रुपैयाँ तथा प्रो भेरियन्टको मूल्य २ लाख रुपैयाँले बढाइएको छ। एमजी एस–फाइभ लक्जरी र एमजी एस–सिक्स मोडलमा क्रमशः १ लाख र २ लाख रुपैयाँ मूल्य वृद्धि गरिएको कम्पनीहरूले बताएका छन्।

अटो व्यवसायीहरूका अनुसार कर संरचना परिवर्तनको प्रभावले ग्राहकको खरीद निर्णयमा असर परेको छ। मूल्य वृद्धि भएपछि शोरुमहरूमा ग्राहकको चहलपहल केही घटेको व्यवसायीहरूको अनुभव छ।

हुन्डाईका आधिकारिक बिक्रेता लक्ष्मी कन्टिनेन्टलका अनुसार विद्युतीय गाडीको मूल्य ३ देखि ४ लाख रुपैयाँसम्म बढेको छ भने पेट्रोल तथा डिजेल गाडीको मूल्यमा उल्लेख्य परिवर्तन भएको छैन।

टाटा मोटर्स नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले साना तथा प्रवेशस्तरका गाडीमा बजेटको प्रभाव कम परेको भए पनि महँगा गाडीमा भन्सार तथा कर वृद्धिको असर देखिएको बताए।

व्यवसायीहरूका अनुसार मलमासका कारण बजार केही सुस्त बने पनि चाडपर्व नजिकिँदै जाँदा अटो बजार पुनः चलायमान हुने अपेक्षा गरिएको छ। विशेषगरी ५० देखि ६० लाख रुपैयाँको मूल्य समूहका विद्युतीय गाडीप्रति ग्राहकको आकर्षण अझै कायम रहेको व्यवसायीहरूको भनाइ छ।

सम्बन्धित समाचार