काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (सोमबार) १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ।
बैठक दिउँसो १ बजे काठमाडौंको चुनदेवीस्थित नवस्थापित सम्पर्क कार्यालयमा बस्ने भएको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार खड्का नेतृत्वको समूहमा रहेका काठमाडौंमा उपलब्ध पूर्वपदाधिकारी तथा पूर्वकेन्द्रीय सदस्यहरूलाई बैठकमा सहभागी हुन आमन्त्रण गरिएको छ।
गत शुक्रबार खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलले चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालन गर्ने र त्यहीँबाट नियमित बैठक तथा संगठन विस्तारका गतिविधि अघि बढाउने निर्णय गरेको थियो।
नेता मीन विश्वकर्माका अनुसार सम्पर्क कार्यालयबाट १५औँ महाधिवेशनको तयारी, आन्तरिक छलफल, संगठन विस्तार र सम्पर्क समन्वयका काम सञ्चालन गरिनेछ।
उनले सातै प्रदेशमा सम्पन्न भेलाबाट प्राप्त सुझावका आधारमा अब राष्ट्रिय भेला आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
आजको बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने अपेक्षा गरिएको छ। इतर समूहले गत निर्वाचनमा कांग्रेसले भोगेको पराजयको समीक्षा, पार्टीभित्रको एकता र आगामी महाधिवेशनको रणनीतिबारे पनि छलफल गर्ने तयारी गरेको जनाएको छ।