free website hit counter

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

beemaadmin
२०८३ असार २२, सोमबार

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मूल्यमा सामान्य गिरावट आएको छ। ओपेक प्लसले अगस्टदेखि उत्पादन लक्ष्य बढाउने निर्णय गरेपछि विश्व बजारमा आपूर्ति बढ्ने अपेक्षासँगै तेलको मूल्य दबाबमा परेको हो।

आज ब्रेन्ट क्रुडको मूल्य ०.४३ प्रतिशतले घटेर प्रतिव्यारेल ७१.८१ अमेरिकी डलरमा झरेको छ। त्यस्तै, डब्लूटीआई (WTI) क्रुडको मूल्य पनि ०.२८ प्रतिशतले घट्दै प्रतिव्यारेल ६८.५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ओपेक प्लसले अगस्टदेखि दैनिक एक लाख ८८ हजार ब्यारेल उत्पादन बढाउने सहमति गरेको छ। पछिल्ला केही महिनादेखि उत्पादन क्रमिक रूपमा विस्तार गर्दै आएको समूहले फेरि उत्पादन वृद्धि गर्ने निर्णय गरेको हो। यद्यपि युद्ध र आपूर्ति अवरोधका कारण वास्तविक उत्पादन भने लक्ष्यअनुसार बढ्न सकेको छैन।

विश्लेषकहरूका अनुसार फारस खाडी र हर्मुज जलडमरूमध्य हुँदै हुने तेल ढुवानी क्रमशः सहज बन्दै जाँदा विश्व बजारमा आपूर्ति थप बढ्ने अपेक्षा गरिएको छ।

यद्यपि मध्यपूर्वको भू–राजनीतिक तनाव, विश्वव्यापी आर्थिक अनिश्चितता तथा मागमा देखिएको उतारचढावका कारण अन्तर्राष्ट्रिय तेल बजार अझै अस्थिर रहने विश्लेषकहरूको भनाइ छ।

सम्बन्धित समाचार