free website hit counter

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध

beemaadmin
२०८३ असार २४, बुधबार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसायको प्रवर्द्धन, लगानी वातावरण सुधार तथा आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग उच्चस्तरीय छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको छलफलमा उद्योग व्यवसाय सञ्चालनलाई सहज बनाउने, लगानीमैत्री वातावरण सिर्जना गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो।

छलफलका क्रममा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक विकास र लगानी विस्तारमा निजी क्षेत्र सरकारको प्रमुख साझेदार रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक कानुनी, नीतिगत र प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने स्पष्ट पारे।

निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सहजीकरण तथा सरकार र निजी क्षेत्रबीच नियमित तथा परिणाममुखी संवादको आवश्यकता औंल्याएका थिए।

प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीर रूपमा ग्रहण गर्दै सम्बन्धित निकायमार्फत आवश्यक सुधार र सहजीकरणका काम अघि बढाइने जानकारी दिए। आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ थियो।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायतको सहभागिता रहेको थियो।

सरकार र निजी क्षेत्रबीचको यस संवादले उद्योग व्यवसाय प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रअनुकूल नीतिगत सुधारलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित समाचार