free website hit counter

गणेश नेपालीको मृत्यु प्रकरण : प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै संसद् र सडकमा विरोध

beemaadmin
२०८३ असार २६, शुक्रबार

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फ विरोध सुरु भएको छ।

बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा नगर प्रहरीसँग विवाद भएपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा मृत्यु भएको थियो।

घटनापछि प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रतिनिधिसभामा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री शाहको मौनतामाथि प्रश्न गर्दै सरकारले नागरिकको सुरक्षा सुनिश्चित गर्न नसकेको आरोप लगाइन्।

त्यसैगरी राष्ट्रियसभामा नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले गणेश नेपालीको मृत्युका लागि सरकारको व्यवहार जिम्मेवार रहेको आरोप लगाउँदै प्रधानमन्त्री शाहले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरे।

उता, शुक्रबार माइतीघरमा प्रदर्शनमा उत्रिएका युवाले पनि प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। प्रदर्शनकारीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना तथा राइडरहरूको हकहितसम्बन्धी स्पष्ट नीति नहुँदा यस्ता घटना दोहोरिएको दाबी गरेका छन्।

प्रदर्शनकारीहरूले राज्य संयन्त्र श्रमजीवी तथा गरिब नागरिकप्रति संवेदनशील बन्नुपर्ने माग गर्दै प्रधानमन्त्री शाहको राजीनामासमेत माग गरेका छन्।

सम्बन्धित समाचार