काठमाडौं । २०२६ फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हा चिलीको प्रतिष्ठित क्लब कोलो–कोलोमा आबद्ध हुने भएका छन्।
फुटबल ट्रान्सफर विशेषज्ञ फाब्रिजियो रोमानोका अनुसार क्लब र खेलाडीबीच मौखिक सहमति भइसकेको छ। आवश्यक कागजी प्रक्रिया पूरा भएपछि दुवै पक्षबीच औपचारिक सम्झौतामा हस्ताक्षर हुनेछ। त्यसपछि भोजिन्हाले मेडिकल परीक्षण पूरा गरी नयाँ क्लबमा आबद्ध हुनेछन्।
कोलो–कोलोले यसअघि क्लब अध्यक्ष अनिबाल मोसाको पहलमा ४० वर्षीय गोलरक्षकसँग वार्ता अघि बढाएको थियो। उनलाई अनुबन्ध गर्न अमेरिकी क्लब इन्टर मियामीले पनि रुचि देखाएको बताइएको थियो।
भोजिन्हाले २०२६ फिफा विश्वकपमा केप भर्डेका लागि चार खेल खेलेका थिए, जसमा दुई खेलमा उनले क्लिन–सिट कायम राखे। उनको उत्कृष्ट प्रदर्शनकै बलमा केप भर्डे इतिहासमै पहिलोपटक विश्वकपको नकआउट चरणमा पुग्न सफल भएको थियो। यद्यपि अन्तिम ३२ को खेलमा अर्जेन्टिनासँग ३–२ ले पराजित भएपछि टोलीको यात्रा टुंगिएको थियो।
पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँग उनको सम्झौता यसै गर्मीयाममा समाप्त भएको थियो। क्लबले सम्झौता नवीकरण नगरेपछि उनी स्वतन्त्र खेलाडीका रूपमा नयाँ गन्तव्यको खोजीमा थिए।
पूरा नाम जोसिमार जोजे एभोरा डायस रहेका भोजिन्हाले यसअघि मोल्डोभाको जिम्ब्रु चिसिनाउ, साइप्रसको एईएल लिमासोल, स्लोभाकियाको ट्रेन्चिन र पोर्चुगलको गिल भिसेन्टेबाट व्यावसायिक फुटबल खेलिसकेका छन्।
विश्वकपमा देखाएको प्रभावशाली प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघले सार्वजनिक गरेको उत्कृष्ट १० खेलाडीको सूचीमा भोजिन्हा सातौँ स्थानमा परेका थिए। उक्त सूचीको शीर्ष स्थानमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी रहेका थिए।