free website hit counter

घमण्डी डाक्टर जसले मलामीसमेत पाएनन्

beemaadmin
२०७६ माघ १८, शनिबार

आजको स्वार्थी समाजमा पैसा सबैथोक हुँदै गएको छ । पैसाका लागि मान्छेले जे जस्ता अपराध गरेर भए पनि आफू रातारात धनी बन्ने सपना देख्न थालेका छन् । पैसाले भौतिक सुख सुविधा किन्न पाए पनि शान्ति किन्न सकिँदैन । सुनकै पलङ किन्न सकिन्छ भनेर मीठो निद्रा किन्न सकिँदैन । सन्तुष्टि नै सबथोक हो । पैसा साधन मात्र हो, साध्य होइन भन्ने कुरा समाजले बिर्सदै गएको छ ।

एकजना घरानिया डाक्टर थिए । उनी निकै व्यस्त हुन्थे नै तर व्यस्त नहुँदा पनि व्यस्तता देखाउँथे । सार्वजनिक कार्यक्रमहरूमा कहिल्यै उपस्थित हुँदैनथे । विवाह, व्रतबन्ध, भोज, पास्नी आदिमा पनि सामेल हुँदैनथे, बरु सगुनसहित पैसा पठाइदिन्थे । यतिसम्मकि मलामी जानु पर्ने ठाउँमा पनि दाउरा, तुलसी, तेल, घिउ किन्नलाई पैसा नै पठाइदिन्थे । धार्मिक कार्यक्रमको ठाउँमा निम्तो आउँदा पनि आफू नगई बढी रकम दान गरेर सम्मानित हुने अपेक्षा राख्दथे । महत्वपूर्ण कार्यक्रममा उपस्थित हुन कार्यक्रम आयोजक तथा सञ्चालकले अनुनय, विनजय गर्दा पनि निकै व्यस्तताका कारण उपस्थित हुन नसक्ने जानकारी गराउँथे । कार्यक्रममा उपस्थित नभई कुनै माध्यमबाट जानकारी लिइ आनन्द लिने उनको प्रवृत्ति थियो । प्रत्येक कार्यमा रुपैयाँ पैसालाई नै सर्वे सर्वा मानेर पैसाले नै कार्यक्रमहरू टार्दै जान्थे ।

करिब १०–१५ वर्ष पहिलाको घटना हो । एक दिन उनकी जन्मदिने आमाको कालगतिले निधन भयो । उनले टोल छिमेकमा जानकारी गराए । त्यसपछि गाउँलेहरू पनि भेला भएर छलफल गरे । उनको बानी व्यहोराबाट परिचित गाउँलेहरूले पनि उनकै शैली अपनाउँदै पैसा उठाएर पठाउने निर्णय गरे । उनीहरू कोही पनि मलामी नजाने निर्णयमा पुगे ।

सबैले पैसा उठाएर जम्मा गरिएको झोला डाक्टरको घर बाहिर पत्रपत्रिका राख्नका लागि बनाइएको र्याकमा राखेर ढोका ढकढक्याउँदै डाक्टरसाप दुःख परेछ हामीले केही पैसा उठाएर ल्याएका छौं त्यो पैसा बाहिर र्याकमा झुण्डिएको झोलामा छ भन्दै गाउँले प्रतिनिधिहरू फर्किए । पैसाको झोला देखेर ती डाक्टरले अनौठो माने । ग्रामीण परिवेश थियो । घाम अस्ताईसकेकाले त्यसदिन दाहसंस्कार हुन सक्दैनथ्यो ।

त्यसैले भोलिपल्ट बिहान मात्रै घाट लैजानु पर्ने भयो । त्यसका लागि जनशक्ति आवश्यक भयो । दाउरा बोक्ने, लास बोक्ने, अन्य सामग्री बोक्ने देखि चिता बनाउन जनशक्ति धेरै नै आवश्यक हुन्थ्यो । बिहान भयो लास उठाउने बेला भयो । बेलुकी झोला ल्याउनेबाहेक कोही पनि गाउँले फर्केर आएनन् । त्यसपछि ती डाक्टर रोई कराई गर्न थाले र झोलाको पैसाको अर्थ पनि बुझे ।

गाउँलेहरूलाई बोलाई आफ्नो कार्यको पश्चाताप गरे र अब उप्रान्त सामाजिक कार्यमा प्रतिबद्ध र उपस्थित हुने प्रण गर्दै छिमेकीलाई जानकारी दिए । तब गाउँलेहरू फेरि छलफल गरी दाहसंस्कारमा सहभागी हुने निर्णय गरी काम सम्पन्न गराए ।

यो सत्य घटना हो । आजको समयमा प्राय व्यक्तिहरू पैसानै सबथोक ठान्छन् । तर जहाँ व्यक्तिको आवश्यकता र पैसाको उपयोगिता आफैंमा महत्वपूर्ण हुन्छ तर दुवै कुरा सबैले बुझ््न जरुरी छ ।

– लेखक नेपाल चलचित्र निर्देशक समाजका सदस्य हुनुहुन्छ

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार