काठमाडौं । नेपालकै पहिलो सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आज (साउन ११ गते) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण कार्य सम्पन्न भएपछि सोमबार भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिको उपस्थितिमा बिहान ११ बजे सुरुङमार्गको उद्घाटन गरिने कार्यक्रम छ।
काठमाडौंको टोटेपाखादेखि धादिङको सिस्नेखोलासम्म जोड्ने २ हजार ६८० मिटर लामो यो सुरुङमार्ग राजधानी प्रवेश र बाहिरिने सवारीसाधनका लागि प्रयोग हुनेछ। सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए।
साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना विभिन्न कारणले ढिलाइ भएको थियो। जापानी कम्पनी हाज्मा–आन्दो जेभीले निर्माणको जिम्मा लिएको उक्त आयोजनाको म्याद चार पटक थपिएपछि अन्ततः निर्माण सम्पन्न भएको हो।
सुरुङमार्ग उद्घाटनसँगै प्रारम्भिक चरणमा अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ। मोटरसाइकल, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर, ग्यास बुलेट तथा केही प्रकारका मालवाहक सवारीलाई तत्काल प्रवेश अनुमति नदिइने जनाइएको छ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल शुल्क लिइनेछ। त्यसका लागि सम्बन्धित बैंकमार्फत एन–ट्याग (आरएफआईडी) स्टिकर सवारीसाधनमा जडान गर्नुपर्नेछ। आरएफआईडी खातामा रकम जम्मा गरेपछि सुरुङमार्ग प्रवेश गर्दा स्वचालित प्रणालीमार्फत शुल्क कट्टा हुनेछ।
काठमाडौं भित्रिने र बाहिरिने सवारीका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ।
सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक रूपमा करिब रु. २२ अर्ब लागत अनुमान गरिएको थियो। तर विभिन्न कारणले आयोजना सम्पन्न हुँदा लागत रु. ३० अर्बभन्दा बढी पुगेको छ। आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले करिब रु. २२ अर्ब ऋण सहयोग उपलब्ध गराएको थियो भने बाँकी रकम नेपाल सरकारले व्यहोरेको हो।
नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे सडकखण्डको यात्रा समय घट्नुका साथै ट्राफिक जाम, दुर्घटना र वर्षायाममा हुने पहिरोको जोखिम कम हुने अपेक्षा गरिएको छ।