काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार हासिल गरेको छ। इम्पेयरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको छ।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिमा १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १० करोड २० हजार रुपैयाँको तुलनामा करिब ९०५.७५ प्रतिशत बढी हो।
बैंकको खुद ब्याज आम्दानी ११.७७ प्रतिशत र कुल सञ्चालन आम्दानी १३.८८ प्रतिशतले बढेको छ। नाफामा आएको ठूलो सुधारको प्रमुख कारण भने अघिल्लो वर्षको ठूलो इम्पेयरमेन्ट चार्ज यस वर्ष रिभर्स हुनु हो।
अघिल्लो आर्थिक वर्षमा बैंकले ८७ करोड ८५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्टाएको थियो। तर, समीक्षा अवधिमा ३० करोड १२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स भएपछि सञ्चालन मुनाफा र खुद नाफा दुवैमा उल्लेख्य सुधार आएको हो।
यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) ७.७५ प्रतिशतबाट घटेर ६.५५ प्रतिशतमा झरेको छ, जसले सम्पत्ति गुणस्तरमा पनि सुधार देखाएको छ।
बैंकको वितरणयोग्य मुनाफा १४ करोड ४३ लाख रुपैयाँ पुगेको छ। यस्तै, प्रतिशेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ६१ पैसा बढेर २२ रुपैयाँ ८८ पैसा पुगेको छ। समीक्षा अवधिमा प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ९७ पैसा र मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १४.८२ गुणा रहेको छ।
हाल ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ११ करोड रुपैयाँ सञ्चित छ। गत असार मसान्तसम्म बैंकले ६७ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।