free website hit counter

स्वास्थ्य बीमामा नयाँ परिवार दर्ता अब पूर्ण रूपमा अनलाइन

beemaadmin
२०८३ श्रावण ३१, आईतवार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले स्वास्थ्य बीमाको नयाँ परिवार दर्ता प्रक्रिया पूर्ण रूपमा अनलाइन बनाएको छ। नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमामा आबद्ध हुन सरकारी कार्यालय धाउनुपर्ने र लामो समय लाइन बस्नुपर्ने बाध्यता हटेको छ।

अब सेवाग्राहीले आफ्नै मोबाइल वा कम्प्युटरबाट बोर्डको आधिकारिक वेब पोर्टलमा गएर नयाँ दर्ता प्रक्रिया अघि बढाउन सक्नेछन्। स्वास्थ्य बीमा बोर्डको अनलाइन दर्ता पोर्टल मार्फत वा क्युआर कोड स्क्यान गरेर दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

दर्ता गर्नुअघि सेवाग्राहीले चालु मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर वा जन्ममिति, परिवारका सदस्यहरूको विवरण, नाता प्रमाणितसम्बन्धी कागजात तथा आवश्यक परेमा बसाइँसराइको कागजात तयार राख्नुपर्नेछ।

यसरी गर्न सकिन्छ अनलाइन दर्ता

सबैभन्दा पहिले प्रणालीमा खाता खोल्नुपर्नेछ। त्यसका लागि परिवारमूलीको नाम, मोबाइल नम्बर र इमेल प्रविष्ट गरेपछि मोबाइलमा प्राप्त हुने ६ अङ्कको ओटिपी कोड राखेर मोबाइल नम्बर प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि पासवर्ड बनाएर युजर आइडी सुरक्षित राख्नुपर्नेछ।

लगइन गरेपछि ‘मेरो बीमालेख’ अन्तर्गत ‘नयाँ आबद्धता’ विकल्पमा गएर विद्युतीय मञ्जुरीनामा स्वीकार गर्नुपर्नेछ। त्यसपछि परिवारमूलीको राष्ट्रिय परिचयपत्र वा आवश्यक म्यानुअल विवरण भर्नुपर्नेछ।

त्यसपछि परिवारमूलीसहित बढीमा १० जना परिवार सदस्यको विवरण भर्न सकिनेछ। परिवारका सदस्यबीचको नाता खुल्ने आवश्यक कागजातसमेत प्रणालीमा अपलोड गर्नुपर्नेछ।

बोर्डले सम्भव भएसम्म परिवारमूलीकै मोबाइल नम्बर प्रयोग गर्न आग्रह गरेको छ। फारम स्वीकृत वा अस्वीकृत भएको सूचना, नवीकरण तथा स्वास्थ्य बीमासम्बन्धी अन्य जानकारी सोही नम्बरमा एसएमएसमार्फत प्राप्त हुने भएकाले आधिकारिक मोबाइल नम्बर प्रयोग गर्न बोर्डले अनुरोध गरेको हो।

लक्षित वर्गले छुट सुविधा पाउने

रातो कार्ड प्राप्त अति विपन्न परिवार, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति, एचआईभी सङ्क्रमित, एमडीआर टीबीका बिरामी, कुष्ठरोगी, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा महिला स्वास्थ्य स्वयंसेविका लगायत लक्षित वर्गले नियमानुसार छुट सुविधा पाउन सक्नेछन्।

यस्ता सेवाग्राहीले परिवारमूली बनाएर सम्बन्धित आधिकारिक परिचयपत्र अनिवार्य रूपमा प्रणालीमा अपलोड गर्नुपर्नेछ।

अनलाइनबाटै बीमा शुल्क भुक्तानी

फारम भरेपछि सम्पूर्ण विवरण पुनः रुजु गरी प्रणालीमा स्वतः गणना भएर आउने बीमा शुल्क उपलब्ध डिजिटल माध्यमबाटै भुक्तानी गर्न सकिनेछ।

भुक्तानी सफल भएपछि बीमालेख प्रमाणीकरणका लागि परिवारमूलीको स्थायी ठेगाना रहेको जिल्लाको स्वास्थ्य बीमा कार्यालयमा फारम स्वतः पठाइनेछ। लक्षित वर्गको हकमा भने विवरण रुजुका लागि स्वास्थ्य बीमा बोर्डमा पेस हुनेछ।

अन्त्यमा सेवाग्राहीले ‘बीमालेख एप डाउनलोड’ विकल्पमार्फत आफ्नो फारम सुरक्षित राख्न सक्नेछन्। फारम स्वीकृत वा अस्वीकृत भएको जानकारी प्रणालीको बेल आइकनमार्फत प्राप्त हुनेछ भने बीमा कार्ड जारी भएपछि मोबाइलमा एसएमएस आउने बोर्डले जनाएको छ।

यस व्यवस्थाले स्वास्थ्य बीमामा नयाँ आबद्धता प्रक्रियालाई छिटो, सहज, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार