काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा ‘इमर्जिङ सन क्लब’मा योग्य अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।
बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय प्रबन्धक तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीसहित विभिन्न शाखाका अभिकर्ता, क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो।
कार्यक्रममा मधेश प्रदेश प्रमुख चौधरीले कम्पनीको आर्थिक वर्ष २०८३/८४ को बिक्री नीति तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै अभिकर्ताहरूलाई कम्पनीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरी व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गरे।
प्रमुख बजार अधिकृत चौलागाईंले अभिकर्ताको हकहित, सेवा–सुविधा तथा व्यावसायिक विकासलाई कम्पनीले प्राथमिकतामा राख्दै विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले अभिकर्ताको व्यावसायिक यात्रालाई सहज बनाउन कम्पनी सहकार्य र सहजीकरणका लागि सधैँ तयार रहेको उल्लेख गर्दै आगामी दिनमा पनि अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनालाई निरन्तरता दिने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले सन नेपाल लाइफले मधेश प्रदेशमा छुट्टै पहिचान र सकारात्मक व्यावसायिक छवि निर्माण गर्न सफल भएको बताए। उनले कम्पनीको सफलतामा मधेश प्रदेशका अभिकर्ता, एडीएम तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासप्रति आभार व्यक्त गरे।

उनले आगामी दिनमा मधेश प्रदेशमा बीमाको पहुँच थप विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई निरन्तर प्रोत्साहन तथा सम्मान प्रदान गरिने बताए।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एडीएम तथा ‘इमर्जिङ सन क्लब’का योग्य अभिकर्ताहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सम्मानबाट अभिकर्ताहरूमा थप उत्साह, ऊर्जा र आगामी दिनमा उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्ने प्रेरणा मिलेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमले अभिकर्ताको उत्प्रेरणा, नेतृत्व विकास, व्यावसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा र बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कम्पनीले बीमाको पहुँच विस्तार, अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यावसायिक वृद्धिलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।