free website hit counter

मिससेलिङ र भ्रामक प्रचार रोक्न बीमा प्राधिकरणको कडाइ

beemaadmin
२०८३ भाद्र ८, सोमबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा बजारमा बढ्दै गएको गलत बिक्री अभ्यास (मिससेलिङ) र भ्रामक प्रचारप्रसार नियन्त्रण गर्न सम्पूर्ण जीवन तथा लघु जीवन बीमकलाई कडा निर्देशन जारी गरेको छ। बीमालेख खरिद गरेको केही समयमै सरेन्डर गर्ने प्रवृत्ति बढेपछि प्राधिकरणले बिक्री प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन खोजेको हो।

बीमा व्यवसाय बीमितको आर्थिक जोखिम हस्तान्तरण तथा वित्तीय सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित संवेदनशील सेवा भएकाले बीमा योजना बिक्री गर्दा बीमितलाई सही, स्पष्ट, पूर्ण तथा तथ्यपरक सूचना उपलब्ध गराउनु बीमक र अभिकर्ताको मुख्य दायित्व भएको प्राधिकरणले जनाएको छ।

बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ तथा अन्य प्रचलित नियामकीय व्यवस्थाअनुसार बजारमा देखिएका गलत अभ्यास नियन्त्रण गर्न प्राधिकरणले नयाँ परिपत्र जारी गरेको हो।

प्राधिकरणका अनुसार अब कुनै पनि जीवन बीमा योजनालाई बैंक वा वित्तीय संस्थाको ‘फिक्स्ड डिपोजिट प्लान’ (मुद्दती निक्षेप योजना), ‘ब्याज दिने योजना’, ‘डबल मनी योजना’ वा ‘निश्चित लगानी प्रतिफल’ जस्ता निक्षेप तथा लगानी योजनाका रूपमा प्रस्तुत गरी बिक्री गर्न पाइने छैन।

बीमालेखका सर्त तथा प्राधिकरणबाट स्वीकृत लाभभन्दा बाहिर गई निश्चित बोनस, प्रतिफल वा रकम पाइन्छ भनी झुटा आश्वासन दिनसमेत रोक लगाइएको छ।

बीमा प्रस्ताव पेस गर्दा उक्त योजना कुनै पनि प्रकारको निक्षेप वा मुद्दती खाता नभएको विषय बीमितलाई स्पष्ट रूपमा बुझाउनुपर्नेछ। साथै, बीमितको आवश्यकता, आर्थिक क्षमता, उमेर, आयस्रोत र उद्देश्यलाई ध्यानमा राखेर मात्र उपयुक्त बीमा योजना सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ।

सामाजिक सञ्जालमा हुने भ्रामक प्रचारमा पनि रोक

सामाजिक सञ्जालमार्फत अभिकर्ताले आफूखुसी भ्रामक विज्ञापन तथा अतिरञ्जित प्रचार गर्ने क्रम बढेपछि प्राधिकरणले यसमा समेत कडाइ गरेको छ। अबदेखि बीमा कम्पनीले आधिकारिक रूपमा स्वीकृत गरेका प्रचार सामग्रीबाहेक अभिकर्ताले अन्य माध्यमबाट बीमा योजनाको प्रचारप्रसार गर्न पाउने छैनन्।

बीमकहरूले आफ्ना अभिकर्ताले प्रयोग गर्ने बिक्री तथा प्रचार सामग्रीको नियमित परीक्षण गर्नुपर्नेछ। ग्राहकका गुनासो तत्काल सम्बोधन गर्नुका साथै सामाजिक सञ्जालमा हुने बीमा योजनासम्बन्धी प्रचारप्रसारको समेत नियमित अनुगमन गर्नुपर्ने प्राधिकरणको निर्देशन छ।

मिससेलिङसम्बन्धी गुनासोको छुट्टै अभिलेख राख्दै त्यस्ता गुनासोको संख्या, प्रकृति, समाधान र गरिएको कारबाहीको विवरण प्रत्येक त्रैमासमा अनिवार्य रूपमा प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्राधिकरणले जारी गरेको निर्देशन तथा अन्य नियामकीय व्यवस्था उल्लंघन गरी बीमालेख बिक्री गर्ने, गलत सूचना प्रवाह गर्ने, भ्रामक वा अतिरञ्जित प्रचार गर्ने तथा बीमालेखको वास्तविक प्रकृति लुकाउनेलाई बीमा ऐन, २०७९ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

प्राधिकरणको नयाँ कडाइले बीमा बजारमा देखिएका विकृति तथा गलत बिक्री अभ्यास नियन्त्रण हुनुका साथै बीमितको हित संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार