काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली घटनास्थलमा खटिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा दक्ष चिनियाँ विज्ञ टोलीलाई उद्धार कार्यमा परिचालन गरिएको हो।
अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई प्रभावकारी बनाउन टोलीलाई परिचालन गरिएको कार्यालयले जनाएको छ। चिनियाँ हेलिकप्टरमार्फत टोलीलाई सोझै त्रिशूली क्षेत्रमा पुर्याइएको हो।
घटनास्थल पुगेको चिनियाँ विज्ञ टोलीले नेपाली सेनाको विशेषज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्र फसेका श्रमिकको उद्धारका लागि प्राविधिक काम सुरु गर्नेछ।
संयुक्त टोलीले सुरुङभित्रको वर्तमान अवस्था, जोखिम र उद्धारको सम्भावनाबारे प्राविधिक अनुगमन तथा मूल्याङ्कन गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रारम्भिक अनुगमनबाट उद्धार सम्भव हुने देखिएमा रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका थप चिनियाँ विज्ञलाई समेत तत्काल घटनास्थलमा परिचालन गरिने तयारी रहेको कार्यालयले जनाएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए पनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको संयुक्त प्रयासमा फसेका श्रमिकलाई सकुशल बाहिर निकाल्न हरसम्भव प्रयास भइरहेको छ।