धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले त्रिशूली नदीमाथिको पुल बगाएपछि सडक सम्पर्कविहीन बनेको धादिङ सदरमुकाम धादिङबेसी वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको छ।
परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टारस्थित ह्याम्लेट रेष्टुरेन्टसम्म जोडिने वैकल्पिक सडक सञ्चालनमा आएपछि धादिङबेसीसँग बाहिरी क्षेत्रको सडक सम्पर्क पुनः स्थापित भएको हो।
गत बुधबार भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमाथिको पुल बगेपछि धादिङबेसी जाने मुख्य सडक अवरुद्ध भएको थियो। पुल बगेसँगै सदरमुकामको सडक सम्पर्क टुट्दा स्थानीयको आवागमन प्रभावित भएको थियो।
वैकल्पिक सडक सञ्चालनमा आएसँगै धादिङबेसीबाट बाहिरी क्षेत्रतर्फ तथा सदरमुकामतर्फ हुने आवागमन सहज हुने भएको छ। यसले बाढीका कारण सडक सम्पर्कबाट अलग बनेको सदरमुकामसँगको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन सहयोग पुगेको छ।