काठमाडौं । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बीमा सेवाअन्तर्गत लाग्दै आएको सहभुक्तानी र क्यापिङ हटाइएको छ।
स्वास्थ्य बीमा बोर्डले तीनवटै जिल्लाका स्वास्थ्य बीमा सेवाप्रदायक संस्थालाई परिपत्र जारी गर्दै विपद् प्रभावित क्षेत्रमा सहभुक्तानी र क्यापिङको व्यवस्था हटाइएको जानकारी गराएको हो।
सरकारले रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। सोही अवधिसम्म ती जिल्लामा स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी र क्यापिङ हटाउने निर्णय गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता डा. पवनकुमार साहले जानकारी दिए।
बोर्डका अनुसार विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवाबाट उपचार लिन आउने बीमितलाई थप सहजता प्रदान गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
यसैगरी, ती जिल्लाका बीमितसँग स्वास्थ्य बीमा परिचयपत्र नभएको अवस्थामा पनि सेवा उपलब्ध गराउन बोर्डले स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। परिचयपत्र नभएका बीमितको हकमा स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको आईएमआईएस–युजर प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी स्वास्थ्य बीमा सेवा प्रदान गर्न भनिएको छ।
गत भदौ १० गते रसुवाको ल्हेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका काम अझै जारी छन्।
विपद्का कारण स्वास्थ्य सेवामा पहुँचमा समस्या नहोस् भन्ने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले प्रभावित जिल्लाका बीमितलाई उपचारमा थप सहजता प्रदान गर्न सहभुक्तानी र क्यापिङ हटाउने निर्णय गरेको हो।