काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीले पूर्वाधार क्षेत्रमा मात्रै करिब १ खर्ब ९० अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन’ प्रतिवेदनअनुसार बाढीबाट क्षतिग्रस्त संरचना तथा सेवाको पुनरुत्थानका लागि ४ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
प्रतिवेदनले बाढीबाट ऊर्जा, सडक तथा पुल, सञ्चार, खानेपानी तथा सरसफाइ, सिँचाइ र नदी संरक्षणलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको देखाएको छ। यीमध्ये ऊर्जा क्षेत्रमा मात्रै १ खर्ब ५१ अर्ब ४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
बाढीका कारण ऊर्जा क्षेत्रका ७५९.०२५ मेगावाट कुल क्षमताका १३ वटा आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनामा २४.३६ मेगावाट क्षमताका पाँचवटा सोलार प्लान्टसमेत छन्।
बाढीले एउटा सबस्टेसन, तीनवटा ट्रान्समिसन लाइन, एउटा स्विचयार्ड र एउटा वितरण लाइनमा क्षति पुर्याएको छ। ऊर्जा क्षेत्रको क्षति पुनःस्थापना तथा पुनरुत्थानका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
घरायसी नवीकरणीय ऊर्जातर्फ पनि उल्लेख्य क्षति पुगेको छ। बाढीले २ हजार ४५० वटा सोलार होम सिस्टम, २ हजार ७४० वटा बायोग्यास प्रणाली, १३ वटा संस्थागत सोलार प्रणाली, ९२ किलोवाट क्षमताको लघुजलविद्युत्, १८५ वटा वाटरमिल्स र ७९५ वटा खाना पकाउने चुल्होमा क्षति पुर्याएको छ।
यस क्षेत्रमा करिब ५६ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पुनरुत्थानका लागि १ अर्ब ६४ करोड रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनले देखाएको छ।
बाढीका कारण करिब ६९ किलोमिटर सडक प्रभावित भएको छ। त्यसमध्ये ५५ किलोमिटर सडकमा पूर्ण क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा समेत करिब १५० मिटर सडकमा क्षति पुगेको छ।
सडक संरचनामा मात्रै २३ अर्ब ४२ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। क्षतिग्रस्त सडकको पुनरुत्थान तथा पुनर्निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
बाढीले मोटरेबल पुलमा पनि ठूलो क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा ३३ वटा मोटरेबल पुल बगेका छन् भने चारवटा पुलमा आंशिक क्षति पुगेको छ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ। तीमध्ये ३३ वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पुल संरचनामा मात्रै ११ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पुनरुत्थानका लागि १८ अर्ब १६ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
बाढीबाट सञ्चार क्षेत्रमा समेत उल्लेख्य क्षति पुगेको छ। एनसेलका २७ वटा र नेपाल टेलिकमका ३८ वटा बीटीएस टावर प्रभावित भएका थिए। तीमध्ये अधिकांश टावर पुनः सञ्चालनमा आइसकेको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, १५२.३ किलोमिटर फाइबर केबल तथा दुईवटा ट्रान्समिसन प्रणाली प्रभावित भएका छन्। एफटीटीएच तथा इन्टरनेट सेवा प्रदायकको संरचनामा समेत बाढीको असर परेको छ।
सञ्चार क्षेत्रमा करिब ६३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ भने पुनरुत्थानका लागि ९४ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
बाढीले खानेपानी तथा सरसफाइका संरचनामा पनि ठूलो असर पुर्याएको छ। यस क्षेत्रमा १ अर्ब ३८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनरुत्थानका लागि २ अर्ब ७ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
बाढीबाट १६ वटा इनार, ९८ वटा इनटेक, १६० वटा ट्याङ्की र ४४३.९ किलोमिटर पाइपलाइन प्रभावित भएका छन्।
प्रतिवेदनअनुसार सिँचाइ तथा नदी संरक्षणतर्फ पनि ठूलो क्षति पुगेको छ। बाढीका कारण ४ हजार ९९० मिटर नदी संरक्षण संरचना, ७०० हेक्टर सिँचाइ क्षेत्र तथा छवटा जलसतह मापन केन्द्र प्रभावित भएका छन्।
यस क्षेत्रमा करिब १ अर्ब ६५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। क्षतिग्रस्त संरचनाको पुनरुत्थानका लागि ४ अर्ब ९४ करोड रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनले औँल्याएको छ।
समग्रमा भोटेकोशीमा आएको भीषण बाढीले ऊर्जा, यातायात, सञ्चार, खानेपानी, सिँचाइ तथा नदी संरक्षणजस्ता अत्यावश्यक पूर्वाधारमा गम्भीर क्षति पुर्याएको देखिएको छ। प्रारम्भिक क्षतिको पुनरुत्थानमै करिब ४ खर्ब ७३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानले बाढीबाट भएको आर्थिक क्षतिको व्यापकता देखाउँछ।