काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन गर्न सबै इजाजतपत्र प्राप्त बीमकलाई आफ्ना संस्थागत तथा नियामकीय विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ।
प्राधिकरणको सम्पत्ति शुद्धीकरण निवारण शाखाले पुस २४ गते सबै बीमकलाई पत्राचार गर्दै आवश्यक विवरण अद्यावधिक गरी सार्वजनिक रूपमा उपलब्ध गराउन आग्रह गरेको हो। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३५ग मा रहेको व्यवस्थाअनुसार बीमकका महत्वपूर्ण विवरण सर्वसाधारणले सहज रूपमा हेर्न सक्ने गरी सार्वजनिक गर्नुपर्ने प्रावधान कार्यान्वयन गर्न प्राधिकरणले यस्तो निर्देशन दिएको जनाएको छ।
निर्देशनअनुसार बीमकले आफ्नो केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालयको स्पष्ट ठेगाना वेबसाइटमा राख्नुपर्नेछ। सम्बन्धित कार्यालयका प्रमुखको विवरणसँगै बीमकको दर्ता मिति र इजाजतपत्र नम्बरसमेत सार्वजनिक गर्नुपर्नेछ।
त्यस्तै, बीमकको कानुनी स्वरूप, कार्यक्षेत्र र संस्थागत परिचय स्पष्ट हुने गरी संक्षिप्त विवरण वेबसाइटमा राख्न प्राधिकरणले भनेको छ। बीमकलाई नियमन गर्ने निकाय तथा नियमनसम्बन्धी कानुनी व्यवस्थाबारे समेत जानकारी सार्वजनिक गर्नुपर्नेछ। यसअन्तर्गत बीमा ऐन, बीमा नियमावली तथा नेपाल बीमा प्राधिकरणबाट जारी भएका निर्देशन र मार्गदर्शनलाई समेत समेट्नुपर्नेछ।
प्राधिकरणले बीमकका सञ्चालक समितिका सदस्यहरूको नाम तथा नामेसी विवरण पनि वेबसाइटमा सार्वजनिक गर्न निर्देशन दिएको छ। साथै, बीमकअन्तर्गत गठन भएका अन्य समितिका पदाधिकारीहरूको परिचय खुल्ने विवरणसमेत अद्यावधिक गर्नुपर्नेछ।
कुनै अन्य कानूनले सार्वजनिक गर्नुपर्ने भनी तोकेका विवरण भए त्यस्ता विवरणसमेत वेबसाइटमार्फत सार्वजनिक रूपमा उपलब्ध हुने गरी अद्यावधिक गर्न प्राधिकरणले बीमकहरूलाई आग्रह गरेको छ। यसबाट बीमकको संस्थागत पारदर्शिता बढाउनुका साथै नियामकीय तथा कानुनी जानकारी सर्वसाधारणको पहुँचमा पुर्याउने अपेक्षा गरिएको छ।