काठमाडौं । अमेरिका र इरानबीचको युद्ध सातौँ महिनामा प्रवेश गरिरहेका बेला अमेरिकी सरकारले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन इरानी प्रतिनिधिमण्डललाई भिसा प्रदान गरेको छ।
न्युयोर्कमा आगामी साता सुरु हुने संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन इरानी राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघचीसहितको प्रतिनिधिमण्डललाई अमेरिकाले प्रवेश अनुमति दिएको हो।
बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार इरानी प्रतिनिधिमण्डललाई भिसा दिने निर्णय भएको पुष्टि गरेका छन्।
यद्यपि, अमेरिका प्रवेशको अनुमति पाए पनि इरानी प्रतिनिधिमण्डलमाथि विभिन्न प्रतिबन्ध लागू हुनेछन्। उनीहरूको आवतजावत सीमित गरिनुका साथै अमेरिकी नीतिअनुसार विलासिताका सामग्रीलगायत केही वस्तु खरिदमा समेत रोक लगाइने जनाइएको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै संयुक्त राष्ट्रसंघको आयोजक राष्ट्रका रूपमा इरानी सरकारको मुख्य प्रतिनिधिमण्डललाई महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुने अवसर प्रदान गर्नु अमेरिकाको जिम्मेवारी भएको बताएका छन्।
अमेरिका र इरानबीच तनाव जारी रहेका बेला इरानी नेतृत्वको महासभा सहभागिताका लागि अमेरिकी सरकारले भिसा स्वीकृत गरेको हो।